Logo

बन्दाबन्दीपछि कलंकी क्षेत्रमा घरजग्गा कारोबारले गति लिँदै



काठमाडौं, पुस १० । बन्दाबन्दीपछि उपत्यकाको कलंकी क्षेत्रमा घरजग्गा कारोवारले गति लिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैतमा देशव्यापी बन्दाबन्दी गरेपछि घर जग्गाको कारोबार घटेको थियो ।

अहिले सबैतिरको अवस्था सामान्य हुँदै गएपछि घरजग्गामा कारोबार गर्नेहरूको संख्या बढेको हो ।

मालपोत कार्यालय कलंकीका अनुसार बन्दाबन्दीअघि जग्गा नामसारी, जग्गा रोक्का तथा फुकुवाका लागि दैनिक ५ सय देखि ६ सय जना कार्यालयमा आउने गर्दथे । बन्दाबन्दी केही खुकुलो भएपछि दैनिक ५०र६० जनाले मात्र कारोबार गर्थे । तर, तिहारपछि भने घरजग्गा कारोवार बढ्दै गएको मालपोत कार्यालय कलंकीका सूचना अधिकारी तथा अधिकृत नीलकण्ठ काफ्लेले जानकारी दिए ।

उनका अनुसार आजभोलि दैनिक २ सय जना जतिले जग्गा नामसारी, किनबेच, रोक्का तथा फुकुवाको कारोबार गरिरहेका छन् । कोरोना महामारी सामान्य हुँदै गए अबको २÷३ महिनाभित्रै कारोबार पुनः पुरानै लयमा फर्किने उनले बताए ।

कलंकीलगायत आसपासका क्षेत्रमा अहिले जग्गाको सरकारी मूल्यांकनमा भने खासै परिवर्तन भएको छैन ।

आर्थिक वर्ष ०७६ साउनमा नेपाल सरकारले मालपोत ऐन, २०३४ को दफा ८ (२) र मालपोत नियमावली, २०३६ को नियम ५ (ख) को प्रावधानबमोजिम जग्गाको न्यूनतम मूल्यांकन तय गरेको थियो । जसअनुसार काठमाडौंको जग्गाको मूल्यांकन पहिलेभन्दा ३० प्रतिशत सम्मले बढेको थियो ।

उक्त मूल्यांकनअनुसार नै अहिले पनि कलंकी क्षेत्रमा जग्गाको कारोबार प्रतिआना १५ लाखदेखि ३२ लाख रुपैयाँसम्ममा भइरहेको बताइएको छ । सूचना अधिकारी काफ्लेका अनुसार रिङरोड नजिकका जग्गाको सरकारी मूल्य प्रतिआना ३२ लाख रुपैयाँसम्म छ । त्यसैगरी गोरेटो बाटोमा भएको जग्गाको मूल्य १५ लाखसम्म कारोबार भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्