Logo

बढ्दै घर कर्जाको माग



काठमाडौं, पुस १० । सुन्दर घरको परिकल्पना गरेका व्यक्तिसँग निरन्तर आम्दानीको स्रोत छ तर घर बनाउन एकमुष्ट रकमको खाँचो परेको छ भने यसको गर्जो टार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गर्दै आएका छन् ।

घर कर्जाका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकको नियममा टेकेर बैंक तथा वित्तीय संस्थाहरूले कर्जा तथा लगानी कार्यविधि बनाएर ग्राहकलाई घर कर्जा दिँदै आएका छन् । अहिले घर बनाउने मौसम भएकाले पनि बैंकहरूबाट घर कर्जाको माग बढ्न थालेको बैंकरहरू बताउँछन् । अहिले बैंकहरूबीच प्रतिस्पर्धामा कर्जा प्रवाह भइरहेको छ ।

पछिल्लो समय गत कात्तिकसम्म व्यक्तिगत तथा व्यावसायिक प्रकृतिका घर कर्जामा बैंक तथा वित्तीय संस्थाबाट ४ खर्ब २० अर्ब ९७ करोड ३८ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ, जुन कुल कर्जा प्रवाहको १३ दशमलव ८१ प्रतिशत हो ।

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट रु। ३० खर्ब ४८ अर्ब ३६ करोड २० लाख रुपैयाँ कुल कर्जा प्रवाह भएको छ ।

घर कर्जाअन्तर्गत व्यावसायिकभन्दा व्यक्तिगतमा बढी आकर्षण छ । राष्ट्र बैंकको तथ्यांकअनुसार प्रवाह भएका घर कर्जामध्ये व्यक्तिगत साढे १ करोड रुपैयाँसम्मका व्यक्तिगत आवासीय घर कर्जा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको प्रवाह भएको छ ।

यसैगरी व्यावसायिक प्रयोजनका लागि रियल सेक्टर शीर्षकअन्तर्गत १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह भएको छ ।

केही समयअघिसम्म कोरोना महामारीले ठप्प रहेको कर्जा कारोबार पछिल्लो समय बढेर घर कर्जामा समेत माग आउन थालेको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले व्यक्तिगत र व्यावसायिक दुवै खाले कर्जा क्रमशः जान थालेको बताए ।

‘अहिले सिमेन्टको मूल्य ठीकै छ । रडको भाउ बढ्न थालेको छ । यसका बाबजुद पनि घर कर्जा एकदमै बढेको छ । अहिले निर्माण कार्य बढ्ने सिजन भएकाले पनि कर्जा प्रवाहमा सुधार भएको हो,’ उनले भने ।

विगतका वर्षभन्दा यस वर्ष भने कर्जा आवेदन दिन अधिकांश बैंकले अनलाइन सुविधा पनि दिएका छन् । यसबीच कर्जा प्रवाहमा बैंकहरूको एकआपसमा ब्याजदर तथा स्किममा प्रतिस्पर्धा चलेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्