Logo

पाँच महिनामा पाँच खर्ब २५ अर्बको आयात



काठमाडौं, पुस १० । कोभिड सङ्क्रमणका कारण मत्थर भएको आयात एकै महिनामा एक खर्ब २५ अर्ब रुपियाँले बढेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार मङ्सिरमा मात्रै नेपालले सो बराबरको वस्तु आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६र७७ को तुलनामा मङ्सिरसम्म ९.५९ प्रतिशतले आयात घटेको भए पनि आयातको वृद्धिदर एकै महिनामा ह्वात्तै बढेको देखिन्छ । निषेधाज्ञाको अवस्थापछि पछिल्ला तीन महिनामा अवस्था खुकुलो बन्दै गएपछि अन्तर्राष्ट्रिय व्यापार पनि बढ्न थालेको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार यसबीचमा नेपालले ५० अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ५.१२ प्रतिशतको वृद्धि हो । यद्यपि निर्यातको वृद्धिदर भने विगतको तुलनामा घटेको तथ्याङ्कले पुष्टि गर्छ । आयात र निर्यात गरेर कुल अन्तर्राष्ट्रिय व्यापारको आकार भने पाँच खर्ब ७५ अर्ब रुपियाँ पुगेको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा भने ८.४८ प्रतिशतले मात्र कम हो । त्यस्तै व्यापार घाटा चार खर्ब ७५ अर्ब रुपियाँ नाघेको छ ।

यो अघिल्लो मङ्सिरको तुलनामा ११ प्रतिशतले कम हो । मङ्सिरसम्म सबैभन्दा धेरै डिजेल आयात भएको देखिन्छ । निषेधाज्ञाका कारण यातायात ठप्प भएपछि घटेको डिजेल आयात बजार खुला भएपछि पुनः बढ्न थालेको हो ।

विभागका अनुसार अहिलेसम्म २३ अर्ब ४३ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि २० अर्ब ४८ करोड रुपियाँको फलाम र स्टिलको आयात भएको छ । भर्चुअल गतिविधिका कारण बढेको मोबाइलको आयात १७ अर्ब ६४ करोड रुपियाँ पुगेको छ ।

त्यसपछि कच्चा भटमास तेल १३ अर्ब ६९ करोड र ११ अर्ब १४ करोड रुपियाँको चामल आयात भएको तथ्याङ्कले देखाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्