काठमाडौं, १० पौष । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीलाई गणतन्त्रविरोधी भनेका छन् । उनले तत्कालिन नेकपा एमालेमा रहँदा पनि ओलीले गणतन्त्रविरोधी प्रस्तावहरु राखेको खुलासा गरे ।
‘ओली गणतन्त्रविरोधी मान्छे हो,’ नेकपाको प्रचण्ड पक्षका अध्यक्ष बनाइएका नेपालले आज आयोजित पत्रकार सम्मेलनमा भने,‘गणतन्त्रप्रति कुनै अपनत्वबोध छैन, गणतन्त्र नेपालमा आउँदैन भनी फरक विचार राख्ने मान्छे हुन् ।’
प्रधानमन्त्री ओली पतनको बाटोमा पुगेको नेपालको टिप्पणी थियो । ओलीको कदम सफल हुने बाटो नभएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न लागेको आरोप लगाए । ओलीको कदमलाई रुसी नेता मिखायल गोर्भाचोमको कदमसँग तुलना गरे । ओली संघीयताको पनि विरोधी भएको आरोप लगाए । ओली आफूले छाड्नुपर्ने भएपछि कुर्सी नै भाँच्ने प्रवृत्तिको भएको टिप्पणी गरे । उनले भने,‘ओलीबा भन्दा दंग पर्नुहुन्छ, यो प्रवृत्तिविरुद्ध लड्नुपर्छ ।’