Logo

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख जनाको हात खाली



काठमाडौं, १० पुस । प्रभु लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर आज बाँडफाँड गरेको छ । इन्स्योरेन्सले कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्वार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएको आइपिओ बाँडफाँड गरेको जनाएको छ ।

आईपीओमा १० लाख ४९ हजार ४७ जनाको आवेदनबाट २ करोड ७८ लाख २१ हजार १ सय ६० कित्ता सेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आवेदन परेको कम्पनिले जनाएको छ । १० लाख ५१ हजार ११६ जना मध्ये २ हजार १६९ आबेदनबाट प्राप्त भएको ४७ हजार कित्ता सेयर आवेदन रद्द भएको छ ।

इन्स्योरेन्सले माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार नै न्युनतम १० कित्ताका दरले सेयर बाँडफाँड हुने बताएको छ । ५ लाख ४० हजार आबेदकले मात्रै न्युनतम १० कित्ता सेयर पाएका छन् । ५ लाख ९ हजार ४७ जना अर्थात ४८.६२% को हात खाली भएको छ ।

इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसबाट ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारीहरुलाई, ५% सामुहिक लगानी कोषहरुलाई र बाकी भएको ५४ लाख कित्ता सर्वसाधारणको लागि निस्कासनमा ल्याएको बताएको थियो ।



प्रतिक्रिया दिनुहोस्