
काठमाडौं, १० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाँचजना पूर्व माओवादी नेताहरुलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री बन्नेहरुमा दुई जना अपेक्षा गरिएकै थिए । तर, तीनजना भने रातारात कित्ताकाट गरेर प्रचण्डबाट ओली पक्षमा पुगेका हुन् ।
ओली पक्षमा पुगेर मन्त्री बनेकामा प्रभु साह पनि हुन् । उनी प्रचण्ड निकटस्थ मानिन्थे । माधवकुमार नेपाललाई प्रचण्ड पक्षीय नेकपाको अध्यक्ष बनाएपछि साह असन्तुष्ट थिए । नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुँदा साह एक्लैले विरोध गरेका थिए ।
माधव नेपालको गृहजिल्ला रौतहट हो । साह पनि त्यही जिल्लाका हुन् । उनीहरु दुवैबीच लामो समययता टकराव रहँदै आएको थियो । साहले यही असन्तुष्टिस्वरुप कित्ता परिवर्तन गरे ।
असन्तुष्ट बनेका साहलाई प्रधानमन्त्री ओलीनिकटस्थले सम्पर्क गरी कित्तामा ल्याउन सफल भएका थिए । उनलाई मन्त्रीको प्रस्ताव गरेर लगिएको बुझिएको छ ।