Logo

प्रधानमन्त्रीद्वारा पुनः मन्त्रीमण्डल पुनर्गठन



काठमाडौं, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ओलीले शुक्रबार सा“झ मन्त्रीमण्डल पुनर्गठन गर्दै ९ जना नयाँ मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले अहिलेका मन्त्रीमध्ये दुई जनालाई हटाएका छन् भने ६ जनाको जिम्मेवारी हेरफेरसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, प्रभु साहलाई सहरी विकास, मणि थापालाई खानेपानी तथा सरसफाइ र गौरीशकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसैगरी गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आलेलाई वन तथा वातावरण, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र दावा लामालाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । विमला विश्वकर्मालाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर पनि गरेका छन् । जसअनुसार भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनमा पठाइएको छ भने हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई भने कृषि तथा पशुपक्षी विकासमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने क्रममा दुई मन्त्रीलाई हटाएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्बाट हटाइएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्