Logo

धितोपत्र बोर्डले घटायो ब्रोकर कमिशन



काठमाडौं, पुस ११ । नेपाल धितोपत्र बोर्डले शेयर खरीदविक्री वापत लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने कमिशन घटाएको छ । बोर्डले शुक्रवार अधिकतम शून्य दशमलव ४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशन अधिकतम् शून्य दशमलव ६० प्रतिशतसम्म रहेको थियो ।

पछिल्लो समय अनलाईन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताहरुले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए । बोर्डको यो निर्णय आगामी आइतवारदेखिको शेयर कारोबारमा लागू हुनेछ ।

धितोपत्र कारोबार प्रणाली तथा सेवमा हुँदै गएको सुधार तथा बजार विस्तारसँगै कारोबार लागतलाई प्रतिस्पर्धी बनाउने अन्तरराष्ट्रिय अभ्यास तथा अनलाईनमार्फत कारोबार गर्ने लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने भएकाले ब्रोकर कमिशन घटाउन आवश्यक भएको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डको यो निर्णयसँगै अब लगानीकर्ताहरुले ५० हजारसम्मको शेयर कारोबारमा शून्य दशमलव ४० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, २० लाखभन्दा माथि १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिशन मात्र तिर्नुपर्ने छ ।

बोर्डले शून्य दशमलव २७ प्रतिशतदेखि शून्य दशमलव ४० प्रतिशत ब्रोकर कमिशन निर्धारण गरेको हो । यसअघि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्दा शून्य दशमलव ४० प्रतिशतदेखि शून्य दशमलव ६० प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था थियो । लगानीकर्ताहरुले ५० हजारसम्मको शेयर खरीदविक्री गर्दा शून्य दशमलव ६० प्रतिशत र ५० हजारदेखि ५ लाख सम्मको कारोबारमा शून्य दशमलव ५५ प्रतिशत कमिसन तिर्नुपर्दथ्यो ।

त्यस्तै ५ लाखदेखि २० लाखासम्मको कारोबारमा शून्य दशमलव ५० प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा शून्य दशमलव ४५ प्रतिशत र सोभन्दा माथीको कारोबारमा शून्य दशमलव ४० प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था रहेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्