Logo

विचाराधीन विषयमा ध्यान दिँदै प्रदर्शन



काठमाडौं, पुस ११। नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध पुस १३ गते आयोजना गरिने विरोध प्रदर्शनमा सम्पूर्ण रूपले केन्द्रित हुने तर विरोध प्रदर्शन गर्दा अदालतमा विचाराधीन विषयलाई ध्यान दिने भएको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनाको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसलाई प्रभाव पार्ने गरी गतिविधि नगर्ने अभिव्यक्ति सभापति देउवाले दिएको केन्द्रीय सदस्य शङ्कर भण्डारीले बताए ।आगामी पुस १३ गते देशका १६५ वटै सङ्घीय निर्वाचन क्षेत्रमा आयोजना गरिने प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा केन्द्रित हुने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन हुँदा सबै सङ्घीय निर्वाचन क्षेत्रका जनप्रतिनिधिको संवैधानिक अधिकारमा आँच आएकाले काँग्रेसले आफ्नो विरोध प्रदर्शनलाई सङ्घीय निर्वाचन क्षेत्र स्तरमा केन्द्रित गरेको हो ।

प्रवक्ता शर्माका अनुसार शुक्रबारको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको चर्चा गर्दै यस विषयलाई जनस्तरसम्म लैजाने कार्यक्रम तय गरिएको स्पष्ट पारे ।

बैठकका बोल्नेहरूले सरकारको असंवैधानिक कदमबारे जनतालाई जानकारी गराउनुपर्ने तर निर्वाचनको वातावरण प्रतिकूल हुने गरी आन्दोलनका कार्यक्रम अगाडि बढाउन नहुनेमा जोड दिएका थिए।

अहिले निर्वाचनको धेरै विरोध गर्दा पछि पार्टीलाई निर्वाचनको माहोल बनाउन कठिन हुनेमा समेत विचार गर्नुपर्ने बैठकमा नेताहरूले उठाएका थिए । त्यसैगरी अदालतलाई प्रभावित गर्ने गरी कार्यक्रम गर्न नहुनेमा समेत नेताहरूले जोड दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्