Logo

बीस करोड बिगो असुलीको माग



काठमाडौं, पुस ११ । राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपियाँ बिगो असुलीको माग दाबी गर्दै विभिन्न व्यापारिक फार्मका पाँच जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले ललितपुरको सानेपामा रहेको कविला सप्लायर्सका सञ्चालक भारतीय नागरिक नवलकिशोर चौधरी, शिवम् प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवाल र काँडाघारीस्थित गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीबाट १३ करोड ४५ लाख रुपियाँ बिगो असुली र कारागार सजाय माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरूले मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अभियोग लगाइएको छ ।

त्यसैगरी बारा बुनियाबाद गाउँपालिकास्थित शिवम् ट्रेड सप्लायर्सका सञ्चालक जगदीश सहनीसमेतलाई प्रतिवादी बनाउँदै चार करोड ८९ लाख रुपियाँ बिगो दाबीसहित अर्को मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गर्ने कास्कीको अनुस्का मल्टिप्रपोजका सञ्चालक शिवलाल तिमल्सिनाविरुद्ध एक करोड ८२ लाख रुपियाँ बिगो असुल गर्ने र जरिवाना र कैदसमेत भुक्तान गर्नुपर्ने गरी जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्