Logo

संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा: दाहाल



काठमाडौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनाको मुद्दा खाली अदालतमा मात्रै गएको नभई सडकमा समेत पुगेको बताएका छन्। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको तहमा पनि गएको बताउँदै सडकसम्म पुगेको बताएका हुन्।

‘लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्ने काम जनताको जिम्मेवारीमा पनि गएको छ, सडकमा पनि पुगेको छ,’ अध्यक्ष दाहालले भने। उनले सदनमा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलले आ–आफ्नो तरिकाले संघर्षका कार्यक्रम घोषणा गरिसकेको बताए। अध्यक्ष दाहालले आफूलाई अदालतप्रति भरोसा भएको बताउँदै अदालतले यो निर्णयलाई अलोकतान्त्रिक भएको फैसला गर्ने विश्वाससमेत व्यक्त गरे। ‘हाम्रो अदालतप्रति भरोसा छ, अदालतले संविधानको मर्म र भावनाअनुसार, देशका आमजनताको चाहनाअनुसार र अहिले सबै राजनीतिक, नागरिक समाज, बुद्धिजीवी, पत्रकार र जनताको भावनाअनुसार प्रतिनिधि सभा विघटको यो निर्णय असंवैधानिक छ, अलोकतान्त्रिक छ भन्ने फैसला गर्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने।

उनले पार्टी भित्रैबाट असहयोग गरेकाले संसद् विघटन गर्नुपरेको भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको खण्डन गरेका छन्। काम गर्न दिएनन् भनेर ओलीले भन्नु आफैंमा कुतर्क र जाली कुरा भएको बताए। अर्को प्रसंगमा उनले सर्वोच्च अदालत र निर्वाचन आयोगले निष्पक्ष निर्णय लिनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले पार्टीको नाम, लोगो र चुनावचिन्ह आफूहरूको हुने दाबीसमेत गरे। उनले रामबहादुर थापा ‘बादल’ अन्त्यमा आफूहरूसँगै आउने बताए । ‘अहिले झुक्किएर उता जानुभएको छ, पछि यतै आउनुहुन्छ,’ दाहालले भने। पार्टी विभाजनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले पूर्वएमालेमा आफूले विभाजन नगरेको भई ओलीले नै विभाजन गरेको बताए।

‘मैले विभाजन गरेको होइन, ओलीजी ले नै विभाजन गर्नु भएको हो,’ दाहालले भने। प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि आरोप लगाए।

पत्रकार सम्मेलनमा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली गणतन्त्रविरोधी र संघीयताविरोधी भएको आरोप लगाए। ‘प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधी नेता हुन्,’ अध्यक्ष नेपालले भने। उनले पार्टीको सम्पूर्ण सम्पत्ति आफूहरूको हुने दाबी गरेका छन्। अध्यक्ष नेपालले आफूहरूको पार्टी आधिकारिक हुने भएकाले सम्पत्ति पनि आफूहरूकै हुने दाबी गरेका हुन्। ‘नेकपाको नाममा रहेको सम्पूर्ण सम्पत्ति हाम्रो हुन्छ,’ उनले भने, ‘सबै पार्टी कार्यालय, पार्टीको नाममा रहेको सबै सम्पत्ति हाम्रो हुन्छ, हाम्रो पार्टी आधिकारिक हो।’ उनले प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण पार्टी विभाजनको अवस्थामा पुगेको पनि बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्