Logo

वर्षौंदेखिका मुद्दा मिलाउँदै न्यायिक समिति



काठमाडौं, पुस ११ । स्थानीय तहमा गठित न्यायिक समितिले झगडियाबीच मेलमिलाप गराउँदा सेवाग्राहीले घरनजिकै न्याय सेवा पाएका छन्। सानोतिनो विवादलाई लिएर कहिले प्रहरी, कहिले अदालत धाउने झन्झट हटेपछि स्थानीयलाई न्याय खोज्न राहत मिलेको हो।

नाता सम्बन्ध कायम गर्ने, पति–पत्नीबीच कलह भएर सम्बन्धविच्छेद हुने अवस्था, जग्गाको साँधसीमा, घरेलु हिंसालगायतका मुद्दामा वडा–वडामै मेलमिलाप भइरहेको छ। वर्षौंदेखि परिवार र गाउँमा कचल्टिएर बसेका मुद्दामा समेत न्यायिक समितिमा आएपछि मेलमिलाप भएको छ। झगडियाबीचको विवादमा फैसलाले भन्दा पनि मेलमिलापले चाहिँ प्रभावकारी समाधान दिएको सम्बन्धित पक्षकै अनुभव छ।

स्थानीय तहमा पालिकास्तरका न्यायिक समिति मात्र होइन, वडास्तरका मेलमिलाप केन्द्रसमेत गठन भइसकेका छन्। सेवाग्राहीले न्यायिक समितिमा निवेदन पेश गरेपछि छलफलका लागि मेलमिलापकर्ता समेत रोज्न पाउने भएकाले न्यायमा विश्वास बढेको देखिन्छ। जिल्लाका सबैजसो वडामा तालिमप्राप्त मेलमिलापकर्ता रहेकाले न्याय सम्पादन सजिलो भएको न्यायिक समिति संयोजकहरू बताउँछन्।

न्यायिक समितिमा आफ्ना बुबासँगको नातासम्बन्ध कायम गरिपाउँ भनी निवेदन दिएका माई नगरपालिकाका एक बालकले न्याय अनुभव गरेको सुनाए। ‘सुरुमा त मैले मेरो बुबा पाउँछु भन्ने विश्वास थिएन,’ ती बालकले सुनाए, ‘तर, वडामा धेरैपटक छलफल गरेपछि कुरा मिल्यो।’ उनी अहिले बाबुसँगै घर बस्छन्, स्कुल जान्छन्। ती बालकले बाबु दाबी गरेको व्यक्तिले पहिले त छोरो स्वीकारेका थिएनन्। तर, मेलमिलाप केन्द्र र न्यायिक समितिले पटक–पटक प्रयास गरेपछि मेलमिलाप भएको हो। नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक विष्णुमाया रिमाल भन्छिन्, ‘त्यो ९नाता सम्बन्धको० मुद्दा निकै समस्यामा थियो तर धेरैपटकको प्रयासपछि मिलेको छ। बालकले न्याय पाएका छन्। अहिले दुवै पक्ष खुसी पनि छन्।’

देउमाई, इलाम र सूर्योदय नगरपालिका तथा चुलाचुली, माङ्सेबुङ, सन्दकपुरलगायत गाउँपालिकामा निकै वर्षदेखि मिल्न बाँकी मुद्दासमेत न्यायिक समितिमा आएपछि मिलेका छन्। सूर्योदय नगरपालिकामा पारिवारिक बेमेल भएर झन्डै दशकसम्म अलग्गै बसेका दम्पत्ती अहिले सँगै बस्न थालेका छन्। नगर उपप्रमुख दुर्गादेवी भट्टराईले धेरै लामो प्रयासपछि ती दम्पत्तीको झगडा मिलेको बताइन्। ‘पत्नीले पतिसँग सम्बन्धविच्छेद गरिपाउँ भन्दै न्यायिक समितिमा निवेदन हालेकी थिइन् तर भरसक मिल्ने अवस्था रहेछ भने परिवार नबिग्रियोस् भनेर प्रयास गर्दा सफल भयौं,’ उनले भनिन्, ‘झगडाको विषयवस्तु ठूलो थिएन तर प्रभावकारी समन्वयकर्ता नहुँदा ८ वर्षसम्म यो दम्पती अलग्गै बसेको रहेछ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्