Logo

निर्वाचन आयोगले थाल्यो नेकपा विवाद निरूपण



काठमाडौं, पुस ११ । निर्वाचन आयोगले व्यवस्थापिका संसद्को प्रतिनिधिसभा विघटनलाई लिएर फुटको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद निरूपणको प्रक्रिया सुरु भएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले शुक्रबार आफू आधिकारिक भएको दाबी गर्दै आयोग पुगेपछि औपचारिक रूपमा नेकपाको विवाद निरूपण प्रक्रिया सुरु भएको हो।

संसद् विघटनपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र दाहाल–नेपाल पक्षले आफू आधिकारिक भएको दाबी गर्दै एकअर्कालाई कारबाहीको शृंखला अघि बढाइरहेका बेला शुक्रबार आयोगमा औपचारिक रूपमै आधिकारिकता दाबी भएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबारदेखि औपचारिक रूपमा नेकपाको विवाद निरूपण प्रक्रिया प्रारम्भ भएको बताए। ‘औपचारिक रूपमा नेकपा आधिकारिकताको विवाद आयोगमा प्रवेश गरेको छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘प्रचलित कानुन र सर्वोच्च अदालतका नजिरहरूका आधारमा तोकिएको अवधिभन्दा अगाडि नै न्यायोचित निर्णय लिन्छौं।’

उनले संविधान, राजनीतिक दलसम्बन्धी कानुन, दलको विधान, अद्यावधिक विधान, सर्वोच्चद्वारा प्रतिपादित नजिरलगायत सबै विषयलाई राखेर तोकिएको अवधिभन्दा अगाडि नै विवाद निरूपण गर्ने बताए।

दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत दर्जनौं संख्यामा रहेको टोलीले आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त थपलियालाई आधिकारिकताको उजुरी बुझाएको हो। दाहाल–नेपाल पक्षका नेताहरू माइतीघरमा भेला भई नाराजुलुस गर्दै आयोगसम्म पुगेका थिए। आधिकारिकताको उजुरी बुझाउँदै अध्यक्ष दाहालले आफू २ सय ९५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा उपस्थित भएको बताउँदै आवश्यक परेको खण्डमा सशरीर उपस्थित हुने बताए। ‘पार्टी एकता गर्दा ४ सय ४१ र पछि चारजना थप गरी ४ सय ४५ केन्द्रीय सदस्य संख्यामध्ये ११ जना अहिले हुनुहुन्न। बाँकी रहेको संख्यामध्ये अहिले २ सय ९५ जनाको हस्ताक्षर लिएर उपस्थित भएका छौं,’ दाहालले भने, ‘अहिले पार्टीको वैधानिकताबारे प्रश्न उठेको छ, आयोगले हामी सबैलाई सशरीर हेर्न बोलाउनुभयो भने उपस्थित हुन तयार छौं। त्योभन्दा ठूलो प्रमाण अर्को हुनै

सक्दैन।’ उनले अर्को पक्षले सयजना हाराहारीको संख्यामा बैठक बसेर केन्द्रीय सदस्य संख्या ११ सय पुर्‍याएको सुन्दा आश्चर्य र अनौठो लागेको समेत बताए। पार्टीको आधिकारिक पक्ष आफूहरू नै भएको बताउँदै आयोगले प्रचलित कानुन, नजिर हेरेर आधिकारिकताको निरूपण गर्ने विश्वाससमेत व्यक्त गरे।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार अनुसूचीबमोजिम आधिकारिकता दाबी निवेदन परेकाले अब केही निरूपणको प्रक्रिया सुरु हुने आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्