Logo

ओलीलाई भारतले तत्काल भ्रमणमा नडाक्ने



काठमाडौं, ११ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चर्चा चलिरहेको छ । भारतबाट पनि उच्च तहको राजनीतिक भ्रमणको विषयले हल्लाको बजार गर्माएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएर मध्यावधि चुनाव घोषणा गरेपछि भारत पहिलोपटक बोलिसकेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको विकसित राजनीतिक घटनाक्रमलाई चासोमा राखेको भनिसकेका छन् । भारतीय मिडियाले भने नेपालमा सत्तारुढ दलको विभाजनलाई भारतका लागि उपलब्धिमूलक जसरी व्याख्या गरिरहेका छन् । प्रधानमन्त्री ओलीले भारतकै चाहना पूरा गर्ने गरी कदम चालेको विश्लेषण गर्नेहरु पनि नभएका होइनन् ।

वास्तवमा भारतबाट उच्च तहको भ्रमण भएपछि नेपालमा नेकपाको विभाजन भएको छ । गम्भीर प्रकारका घटनाहरु घटेका छन् । बालुवाटारमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले दुई महिना अघि प्रधानमन्त्रीलाई भेटेका थिए । त्यसपछि भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला हुँदै भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएर गए । चौथाइवाले भारत फर्किएको केही दिनमै नेकपाभित्र गम्भीर संकट आयो ।

अहिले ओलीको भारत भ्रमणको पहलहरु भइरहेका छन् । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने चर्चा पनि छ । तर, भारतले तत्काल प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिने सम्भावना छैन । २६ जनवरीमा भारतको गणतन्त्र दिवस छ । उक्त दिवसमा प्रमुख अतिथिका रुपमा भारतले विदेशी नेतालाई निम्तो गर्छ । विगतमा राजा त्रिभुवन र राजा वीरेन्द्र पनि प्रमुख अतिथिका रुपमा गणतन्त्र दिवसमा पुगेको इतिहास छ । भारतले तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामा देखि जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो ओबेलाई पनि प्रमुख अतिथिका रुपमा डाकेको इतिहास छ ।

यसपटक भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन रहेका छन् । गणतन्त्र दिवस नजिकिदै गर्दा भारतले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणमा बोलाउने सम्भावना नरहेको बुझिएको छ । भारतले ओलीलाई भ्रमणमा डाकेर अन्य धेरै मित्रहरुलाई नचिढ्याउने नीति लिएको बुझिएको छ ।

यसैगरी, भारतबाट तत्काल उच्च स्तरको भ्रमणको सम्भावना पनि नरहेको बुझिएको छ । यसका लागि पहल गरिएपनि भारतले त्यसतर्फ खासै चासो दिएको छैन । विदेश सम्बन्धमा खासै चासो नदिने भारतका गृहमन्त्री अमित शाहलाई नेपाल भ्रमणमा ल्याउने प्रयास नभएको होइन । तर, उनी तत्काल नेपाल आउने सम्भावना नरहेको बुझिएको छ ।

भारतले पछिल्लो समय कर्मचारी तहमा द्वीपक्षीय छलफलहरु अगाडि बढाइरहेको छ । भाजपाले पनि विदेश विभाग प्रमुख चौथाइवालेमार्फत् कुराकानी चलाइरहेको छ । बरु भाजपाबाट सरकारमा नभएका नेताहरुको भने भ्रमण बाक्लो हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot