Logo

राजदूत यान्छी नेताहरुको घर-घरमा, के चाहन्छ चीन ?



काठमाडौं, ११ पौष । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेताहरुको घर घरमा दौडधूप गर्दैछिन् । नेपाल कम्युनिस्ट पार्टीको विभाजनले सबैभन्दा चिन्तामा पारेकोमध्ये यान्छी पनि हुन् । उनले यो हप्ताभरी नेकपाका धेरै नेताहरुलाई भेटिसकेकी छिन् । कतिपय भेटहरु गोप्य राखिएका छन् ।

यान्छीले शुक्रबार नेकपाका तीनजना नेताहरुलाई भेटिन् । उनले पूर्व सभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनलाई भेटेकी छिन् । दुवै नेता प्रचण्ड पक्षीय हुन् । बिहिबार नै यान्छीले नेकपा अध्यक्ष प्रचण्डसँग खुमलटारस्थित निवासमा भेटिन् । नेकपा विभाजनमा केन्द्रित रहेर उक्त भेटमा कुराकानी भएको बुझिएको छ ।

शुक्रबार राजदूत यान्छीले नेकपाको प्रचण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेकी छिन् । उनी कोटेश्वरस्थित नेपाल निवासमा पुगेर भेटेकी हुन् ।
यान्छीले मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवास पुगेर भेटिन् । यी सबै भेटघाट नेकपाको विभाजन र पछिल्लो राजनीतिक घटनाक्रमसँग केन्द्रित रहेर भएको थियो ।

नेकपा विवादमा चिनियाँ सक्रियता विगतमा पनि भएको थियो । नेकपाको एकीकरणमा चिनियाँ भूमिकाबारे चर्चा चल्ने गरेको छ । चीनमा शासन गर्दै आएको चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको विशेष सम्बन्ध छ । दुवै पार्टीले संयुक्त प्रशिक्षण पनि आयोजना गर्दै आएका छन् । विगतमा नेकपाभित्र विवाद बढ्दा चिनियाँ पक्षले प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेर मिलाइदिएको थियो । भदौमा सहमति बन्दा पनि राजदूत यान्छीले दौडधूप गरेर मिलाएको चर्चा छ । यसपटक भने उनी यसमा असफल भइन् ।

चीनले नेपालको राजनीतिक घटनालाई गम्भीरतापूर्वक लिएको छ । चीनको विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्ने ग्लोबल टाइम्सले यसबारे लेख्दै नेपालमा राजनीतिक स्थायित्वमा जोड दिएको छ । चीनले नेपालमा राजनीतिक स्थायित्व चाहेको र नेकपामा उत्पन्न विवादले स्थायित्वमा असर पर्ने चिन्ता व्यक्त गरेको उल्लेख छ । यसबाट पनि चीनले नेकपाको विभाजनबाट ठुलो धक्का महशुश गरेको बुझ्न सकिन्छ । उसले अझै पनि नेकपा एकीकरणका लागि प्रयास गरिरहेको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्