Logo

काठ संकलन र घाटगद्दीमा रोकः काठ आयातलाई प्रोत्साहन



विराटनगर, पुस १२। वन विनाश नहोस् भनेर सरकारले गत जेठ महीनादेखि जंगलबाट कुनै पनि किसिमको काठ संकलन तथा विक्री गर्न रोक लगाएपछि त्यसको असर काठको बजारमा देखिएको छ । नेपाली बजारमा काठको मूल्य प्रतिक्यूविक फिट ७०० ले बढेको छ भने मलेशिया, थाइल्यान्ड र भारतबाट यो अवधिमा विराटनगर नाकाबाट मात्रै ४० करोडको काठ भित्रिएको छ ।

संघीय सरकारले लगाएको प्रतिबन्ध फुकुवा नहुँदा नेपाली बजारमा काठको अभाव हुन थालेपछि मूल्यसमेत बढेको हो । रेग्मी समिलका सञ्चालक कुसुम रेग्मी सरकारले वनबाट काठको संकलन, उत्पादन र विक्री वितरणमा रोक लगाएपछि विदेशी काठमा निर्भर हुनुपरेको बताए । उनका अनुसार पछिल्लो समय काठको मूल्य सखुवाको प्रतिक्यूविक फिटमा ७ सयले बढेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार ७ महीनामा भारत, मलेशिया र थाइल्यान्डबाट ४० करोड बराबरको काठ भित्रिएको छ । विराटनगर भन्सार नाका भएर ८ लाख ५५ हजार ९०७ स्क्वायर फुट काठ आयात भएको छ । तेस्रो मुलुकबाट खासगरी मलेशियाबाट सालको काठ बढी आयात भइरहेको छ ।

वैशाख महीनादेखि असारसम्म नेपालमा पूर्ण बन्दाबन्दीको अवस्था रहेको भए पनि त्यस अवधिमा करीब १५ करोड रुपैयाँ बराबरको काठ आयात भएको छ । केन्द्रीय अनुगमन टोलीले अनुगमन गरी जंगलबाट सखुवाको काठ निकाल्न नदिएपछि आपूmहरू मलेशियाको काठमा निर्भर हुनु परेको गुनासो सुनसरीको इनरुवामा रहेको राधाकृष्ण काठमिलका सञ्चालक प्रदीप कोइरालाले गुनासो गरे । उनका अनुसार सरकारले कुकाठ मात्र निकाल्न दिने र सखुवाको काठ जंगलमै सडाउने नीति लिएपछि समस्या निम्तिएको उनले बताए ।
विराटनगरको बजारमा प्रतिक्युविक फिट ४ हजार ८ सयका दरले पाइने सखुवा काठको मूल्य अहिले ५ हजार ५ सय क्यूविक फिट पुगेको छ । भारतका काठ बजारमा सालको काठको मूल्य प्रतिक्युविक २ हजारदेखि २ हजार ८ सय र बंगलादेशमा २ हजार ५ सय रहेको उनले बताए ।

जिल्ला वन कार्यालय मोरङका प्रमुख अनिरुद्धकुमार शाहका अनुसार नेपालमा घर निर्माणलगायतमा सखुवाको काठ नै रोज्ने चलन र अन्य मुलुकबाट आयात गरिएको काठभन्दा यहाँको सखुवाको गुणस्तर राम्रो भएकाले सखुवाको खपत अन्य कुकाठको तुलनामा बढी रहेको बताए । जिल्ला वन कार्यालय मोरङका अनुसार गत जेठ १५ गतेसम्म मोरङको जंगलमा वार्षिक कार्ययोजनाअन्तर्गत कटान भएका ६० हजार क्युविक फुट सालका काठ संकलन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार जंगलबाट सालका काठ संकलन र घाटगद्दी गर्न रोक लगाएका कारण काठको आन्तरिक उत्पादन ठप्प भएको हो । यसले बजारमा काठको माग र जंगलमा चोरी तस्करीको चाप एकैचोटि बढेको र लामो समयसम्म एकनास रहेको मूल्य बढ्न थालेको व्यवसायीले बताएका छन् ।

वन अधिकारीका अनुसार केन्द्रबाट आएको अनुगमन टोलीले अनुगमन गर्दा जंगलका ढलापडा रूखहरू छाट्ने काम भइरहेको थियो । अनुगमन समितिले त्यसलाई अन्यथा ठानेर जेठ १५ गते मन्त्रिपरिषद्बाटै काठ संकलन र विक्री वितरणमा रोक लगाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्