Logo

कोरोना बीमामा डेढ अर्बभन्दा बढी भुक्तानी



काठमाडौं, पुस १२ । कोरोना बीमामा शुक्रवारसम्म १५ हजारभन्दा बढी ग्राहक कोरोना संक्रमण भएका बीमितले दाबी भुक्तानी पाएका छन् । बीमा समितिको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

शुक्रवारसम्म कुल १५ हजार ८७९ जनाले दाबी भुक्तानी पाएका हुन् । रकमका आधारमा रू। १ अर्ब ५४ करोड ९३ हजार लाख भुक्तानी भएको छ । साथै, ७९ ओटा आवेदन दाबीका लागि अयोग्य ठहरिएको बीमा समितिले बताएको छ ।

समितिको पछिल्ला तथ्यांक अनुसार पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी चुस्त रूपमा अगाडि बढेको छ । केही समयअघि कोरोना बीमाको दाबी रकम करोडको मात्रामा थियो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी ‘फास्ट ट्र्याक’मा भइरहेको बताए ।

पहिला बीमा कम्पनीहरूले दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । विभिन्न क्षेत्रबाट यसको आलोचना हुन थालेपछि अहिले दाबी भुक्तानी चुस्त ढंगले भएको समितिको भनाइ छ ।

कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिलाई बोलाएर कोरोना बीमाको दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएका थिए । त्यसबेला १ हजार ७९१ जनालाई मात्र दाबी भुक्तानी भएको थियो । तर, हालसम्ममा १५ हजारभन्दा बढीले दाबी पाएका छन् । समितिका अनुसार कोरोना बीमा दाबीका लागि हालसम्म २९ हजार २७० ओटा पूर्ण कागजपत्र सहितको आवेदन आएका छन् ।

यस्तै, थप ७ हजार ४४१ आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । त्यसमध्ये ३ हजार ८८६ ओटा आवेदन प्रमाणीकरण भएर आएको छ भने ३ हजार ५५५ आवेदन प्रमाणीकरणको प्रक्रियामा रहेको बताइएको छ ।

कागजपत्र पूरा नभएपछि २ हजार ५३ ओटा आवेदन बीमा कम्पनीहरूलाई पठाइएको छ । साथै, ४ हजार ३१९ ओटा आवेदन बीमा पुलमा भेरिफिकेशन गर्ने काम भइरहेको समितिले जानकारी दिएको छ ।

कोरोना बीमामा बीमाशुल्क भन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्