Logo

नेकपा विभाजनः दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास



काठमाडौं, पुस १२ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्। दुवै पक्षका नेताहरू जिल्लाजिल्लाबाट काठमाडौंमा रहेका कार्यकर्तालाई भेला गरेर पार्टी विभाजनको कारणबारे चर्चा गर्न र त्यसको औचित्य पुष्टि गर्न लागिपरेका हुन्।

पार्टी विभाजनपछि दुवै पक्षले कार्यकर्ता आ–आफ्नो पक्षमा पार्न जिल्ला तहमै कसरत सुरु गरिसकेका छन्। काठमाडौंदेखि स्थानीय तहसम्म नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुवै समूहले प्रभावशाली केन्द्रीय नेताहरू नै परिचालन गरेका छन्। दाहाल–नेपाल समूहले शनिबार सचिवालय बैठक राखेर संगठन विस्तार गर्ने र ओली पक्षमा रहेका नेता–कार्यकर्तालाई तान्ने विषयबारे छलफल गरेको छ।

पार्टी विभाजनपछि त्यसको दोषी को हो भन्नेबारे नेता–कार्यकर्तालाई बुझाउन सकेसम्म सचिवालय सदस्य र नभए पनि स्थायी कमिटी सदस्यहरूलाई खटाउने भएको छ। ओली पक्षले भने यसअघि नै देशभर कार्यकर्ता भेला गर्ने र सबैजसो स्थानमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी कार्यतालिका तयार पारेर आफूनिकटका नेताहरूलाई पठाइसकेको छ।

शनिबार ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौं–५ का कार्यकर्तालाई सम्बोधन गरे। शंकर पोखरेलले लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई सम्बोधन गरे। त्यस्तै दाहाल–नेपाल समूहका सुरेन्द्र पाण्डेले धादिङका नेता–कार्यकर्तालाई सम्बोधन गरे। दाहाल–नेपाल समूहले हरिबोल गजुरेलको उपस्थितिमा सिन्धुलीका नेता–कार्यकर्तासँग छलफल गरे।

दुवै पक्षका नेताहरूले पार्टी विभाजन हुनुमा एकले अर्कालाई दोष थोपर्दै आफूहरू नै असल भएको साबित गर्न खोजेका छन्। पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओली पक्षका नेताहरूले दाहाल–नेपालले सरकारलाई काम गर्न नदिएको, आफ्ना मान्छे भर्ती गर्न दबाब दिएको, ओलीलाई राष्ट्रियतको पक्षमा काम गर्दा पनि समर्थन गर्न नसकेको, राष्ट्रपति र प्रधानमन्त्रीलाई हटाउने षड्यन्त्र रचेको आरोप लगाएका छन्।

त्यस्तै दाहाल–नेपाल पक्षका नेताहरूले ओली सरकार भ्रष्टाचारको चंगुलमा फसेको, औषधिलगायत सामान खरिद गर्दा भ्रष्टाचार गरेको, भ्रष्टचारीलाई संरक्षण गरेको, संसद् विघटन गरेर लोकतन्त्र अपरहण गरेको, आफूलाई सर्वोच्च शक्ति ठानेको, आफूले जे गर्दा पनि हुने भन्ने सोच पलाएको र बिस्तारै मुलुकलाई निरंकुशतातिर धकेल्न खोजेकोजस्ता आरोप लगाएर पार्टी विभाजनको कारक तत्व ओली भएको आरोप लगाएका छन्।

ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौंको आफ्नै क्षेत्रका कार्यकर्ताहरूको भेला राखेर पार्टीभित्र समस्या आउनुको मुख्य कारण कार्यकारी अध्यक्ष दाहाल नै भएको आरोप लगाए। तर कार्यकारी अध्यक्ष दाहालले के–के कारणले पार्टीमा समस्या ल्याएको भन्नेबारे भने खुलाएनन्। उनले पार्टी एकता जोगाउन आफूले धेरै पहल गरे पनि सफल हुन नसकेको बताउँदै कार्यकर्तासँग माफी मागेका थिए। ‘मैले मेरो जिम्मेवारीअनुसार भूमिका खेल्दाखेल्दै पनि पार्टी एकता जोगिएन, यसर्थ म तपाईंहरूसँग माफी चाहन्छुु,’ पोखरेलले भने।

त्यसैगरी आफूनिकट नेता–कार्यकर्ता भेला पारेर दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पार्टी विभाजन हुनुको कारण प्रधानमन्त्री ओलीको अहंकार भएको बताए। उनले प्रधानमन्त्री ओली आफैं राजा बन्ने कोसिस गरेको त्यसो नगर्न चेतावनीसमेत दिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्