Logo

ओलीको अस्त्रले काँग्रेसभित्र धाँजा फाट्यो



काठमाडौं, १२ पौष । संसद बिघटनले ल्याएको राजनीतिक कम्पनले नेपाली काँग्रेसभित्र पनि धाँजा फाटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गराउने कदमपछि घोषित मध्यावधि चुनावमा जाने या नजाने विषयमा काँग्रेसभित्र व्यापक अन्र्तद्वन्द्व बढेको हो । यसले काँग्रेसमा समेत धाँजा फटाउन शुरु गरेको छ ।

विश्वस्त स्रोतका अनुसार काँग्रेसभित्रको सभापति शेरबहादुर देउवा पक्ष संसद बिघटनकै पक्षमा सर्वोच्च अदालतले फैसला दिनेमा ढुक्क छ । त्यसैले देउवा निकटस्थ एनपी साउद, डा. नारायण खड्का मध्यवाधि चुनावको तयारीमा लाग्नुपर्ने पक्षमा छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद बिघटनको विरुद्ध आन्दोलनमा जानुपर्ने दबाबका कारण काँग्रेस सडकमा उत्रिएको हो । तर, यसमा देउवा पक्षको दिलचस्पी देखिदैन ।

संसद बिघटन गराउने ओलीको कदममा देउवाको समेत साथ रहेको विषय पौडेल पक्षका नेताहरुमाझ चल्न थालेको छ । संवैधानिक परिषदका कतिपय नियुक्तिमा देउवाले चाहेका व्यक्तिहरु सिफारिश भएका छन् । यसमा देउवाले ओलीसँग राजनीतिक लेनदेन गरेको पौडेल पक्षमाझ छलफल हुन थालेको छ । देउवा ओलीलाई सहयोग गर्न बढेको भन्दै पौडेल पक्षले विस्तारै विषय उठान गर्ने तयारी गरेको छ ।

संसद पुनःस्थापना नभए के होला र ?

मध्यावधि चुनावमा देश जाने अवस्था बनेमा देउवा पक्ष सहभागी हुनेतर्फ बढ्नसक्छ । त्यतिबेला पौडेल पक्षको अडान फरक हुने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार पौडेल पक्ष सडकबाट भएपनि संसद पुनःस्थापना गराएर देशलाई निकास दिनुपर्ने अडानका लागि तयारी अवस्थामा छ । यसले काँग्रेसभित्र झन् अन्र्तद्वन्द्व बढाउनसक्छ ।

ओलीले निर्वाचन गर्नका लागि घोषणा गर्नुभएको होइनः भीम रावल

ओलीले फालेको मध्यावधि चुनावको अस्त्रले उनको दल नेकपा विभाजित भएको छ । यो अस्त्रको कम्पनले अन्य दलमा पनि धाँजा फाँट्न थालेको छ । जसमा काँग्रेस पनि परेको हो ।

देउवाले अप्रत्यक्ष रुपमा ओलीको मध्यावधि चुनाव घोषणामा खुशी मनाए । उनले नेकपा फुटेको अवस्थामा चुनाव भएमा काँग्रेसले बहुमत ल्याउने र आफू प्रधानमन्त्री बन्ने सपना देख्न थालेका छन् । तर, ओलीले कुनै हालतमा चुनाव नगर्ने बरु सार्दै पूरा पाँच वर्ष सरकारमा रहने विश्लेषण पौडेल पक्षले गर्न थालेको छ । राजनीतिक दाउपेचको खेलहरु भइरहेकाले काँग्रेस मध्यावधि चुनावको आशामा अगाडि बढेमा खाडमा पर्ने उक्त पक्षको ठम्याई रहेको निकटस्थ स्रोतले बताएको छ ।

संसद पुनःस्थापना भए के होला ?

अदालतले संसद पुनःस्थापना गर्ने फैसला नगरेमा चुनावमा जाने या सडकमा जाने विषयमा काँग्रेसभित्र ठुलो संघर्ष हुने निश्चितप्रायः छ । यसले फाटेको धाँजा अझ बढ्न सक्छ ।

राजनीतिक कोर्स यसरी बढ्दैछ कि ओली र देउवा एकातर्फ प्रचण्ड र पौडेल अर्कातर्फ हुँदैछन् । नेकपा विभाजित अवस्थामा छ । काँग्रेसमा पनि धाँजा फाटिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्