Logo

मङ्सिरसम्म आधा खर्ब बीमाशुल्क संकलन



काठमाडौं, पुस १३ । चालू आर्थिक वर्ष (आवं) २०७७र७८ को पहिलो ५ महीनामा जीवन बीमा कम्पनीहरूले करीब ५० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त मङ्सिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । ती कम्पनीले चालू आवको ५ महीनामा कुल रू। ४९ अर्ब २९ करोड बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
गत कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ३९ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । असोजमा मात्र १० अर्बभन्दा बढी बीमाशुल्क संकलन भएको देखिन्छ ।

कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको कारण गत आवको चैत, वैशाख र जेठमा बीमाशुल्क संकलन नराम्रोसँग प्रभावित भएको थियो । तर, असारदेखि बन्दाबन्दी खुकुलो बनाएपछि भने बीमा व्यवसाय विस्तारै चलायमान हुँदै गएको छ । पछिल्लो समय जीवन बीमा व्यवसाय बढ्दै गएको कम्पनीहरूको भनाइ छ । कोरोना विपद्का बीच पनि आर्थिक क्षेत्र चलायमान भएकाले व्यवसाय सन्तोषजनक रहेको कम्पनीहरू बताउँछन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १४ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

बढी बीमा शुल्क संकलन गर्नेमा दोस्रो लाइफ इन्स्योरेन्स (एलआईसी) नेपाल रहेको छ । कम्पनीले ७ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले पाँच अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ ।

पछिल्लो ३ वर्षमा सञ्चालनमा आएका १० नयाँ बीमा कम्पनीमध्ये युनियन लाइफ बीमा शुल्क संकलनमा अगाडि देखिएको छ । कम्पनीले नयाँसहित केही पुराना कम्पनीलाई पनि पछि पार्दै दुई अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्