Logo

आरती स्ट्रीप विरुद्ध श्रम कार्यालयमा उजुरी



विराटनगर, पुस १३ । वार्षिक ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीपविरुद्ध श्रम कार्यालयमा उजुरी परेको छ । विनासूचना १८४ जना मजदूर निष्कासन गरिएको भन्दै पुनर्बहालीको मागसहित मजदूरले श्रम कार्यालय विराटनगरमा आइतवार कम्पनीविरुद्ध उजुरी दिएका हुन् ।

कम्पनीले शुक्रवार नियमित काममा गएका १२६ जना मजदूरलाई गेटबाट भित्र पस्न नदिएको बताइएको छ । यस्तै शनिवार काम गर्न गएका थप ५८ जनालाई समेत प्रवेश नदिएपछि एक वर्षदेखि नियमित काम गर्दै आएका मजदूर कामविहीन भएका छन् । कम्पनी व्यवस्थापनले ठेकेदारका ज्यालादारीमा काम गर्ने मजदूर भएकाले काम दिनुपर्ने अनिवार्यता नरहेको बताएपछि मजदूरले श्रम कार्यालयमा उजुरी दिएका हुन् ।

नेपाल कारखाना श्रमिक संघ आरती स्ट्रीप इकाइ समितिका अध्यक्ष सुरेशकुमार साहको अगुवाइमा श्रम कार्यालय पुगेका मजदूरले कम्पनीले क्षतिपूर्ति सहित पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् । तत्काल मजदूरलाई पुनर्बहाली गर्न श्रम कार्यालयले कम्पनीलाई आइतवार नै पत्र काटेको छ ।

निकालिएका सम्पूर्ण मजदूरलाई पुस १४ गते बेलुका ४ बजेभित्र पुनर्बहाली गरी पुस १५ गतेभित्र श्रम कार्यालयलाई लिखित जानकारी दिन वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आरती स्ट्रीपलाई लिखित आदेश दिएका छन् । त्यसो नगरिए श्रम ऐनको दफा १६७ बमोजिम कारबाही समेत गरिने बेहोरा पत्रमा उल्लेख छ ।

कम्पनीमा काम गर्न शुक्रवार र शनिवार गएका मजदूरलाई प्रहरी लगाएर गालीगलौज गरेर गेटबाट खेदाइएको अध्यक्ष साहको भनाइ छ । कम्पनीमा करीब ४०० भारतीय मजदूर कार्यरत छन् । गोप्य रूपमा काम गर्ने भारतीय मजदूरलाई बढी तलब र सुविधा दिएर राखिएको, राम्रो काम दिइएको तर नेपाली मजदूरलाई भने तल्लो स्तरको, कम सुविधा भएको काम मात्र लगाइएको आरोप मजदूरले लगाएका छन् । आर्थिक अभियान दैनकबाट



प्रतिक्रिया दिनुहोस्