Logo

युवा मतदाता समेट्दै आयोग



काठमाडौं, पुस १३  । निर्वाचन आयोगले आगामी वैशाख १६ गते १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस् भन्ने उद्देश्यले यस्तो गृहकार्य अगाडि बढाएको हो ।

आयोगले यसअघि निर्वाचनको मिति घोषणा भएकै दिनलाई आधार मानेर सो दिनसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहित विवरण टिपाएका नेपाली नागरिकलाई मतदाता नामावलीमा समावेश गर्दै आएको थियो । यस पटक भने वैशाख १६ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको विवरण आयोगका जिल्लास्थित कार्यालयहरूमा समावेश गराइसकेका नागरिकले मात्रै मतदाता हुन पाउने छन् ।

उमेर १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउन पाउने र नागरिकता बनाउँदा नै मतदाता हुनका लागि फोटोसहितको विवरण समावेश गराएका नागरिक १८ वर्ष पुगेपछि स्वतः मतदाता नामावलीमा समावेश हुनेछन् । विगतको परम्परालाई परिवर्तन गर्दै आयोगले मतदाता हुनु अघिल्लो दिन १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता विवरणमा नाम रहेकालाई समेट्ने निर्णय गरेमा युवा मतदाताको सङ्ख्या केही हदसम्म बढ्ने छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मिति घोषणा भएपछि अब आयोगले नयाँ मतदाता सङ्कलन अभियान सञ्चालन गर्न नसक्ने कानुनी व्यवस्था रहेको बताए । मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा (२) मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने स्पष्ट कानुनी व्यवस्था छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार हालसम्म एक करोड ५४ लाखभन्दा बढी मतदाता रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्