Logo

काठमाडौँ–तराई द्रुत मार्गः सुरुङ खण्डका लागि दुई कम्पनी छनोट



काठमाडौं, पुस १३ । काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिए । सूचीकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण कम्पनीमध्येका हुन् । दु्रतमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ ।

दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ । ‘‘छनोट हुने कम्पनीले ट्विन डबल लेन मापदण्ड (स्ट्यान्डर्ड) को सुरुङमार्ग, ‘हाई ब्रिज’ र हाई ब्रिजसँगैका केही भाग द्रुतमार्गको समतल भागसमेत निर्माण गर्ने छन्,’’ उनले भने।

सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रि–क्वालिफिकेसन’को बोलपत्र आह्वानपछि सुरुङमार्ग निर्माणका लागि पहिलो प्याकेजमा २१ र दोस्रो प्याकेजमा २२ गरी ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएको थियो ।

ती कम्पनीमध्ये दुई चिनियाँ निर्माण कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत हुन सफल भएका छन् ।बोलपत्र पेस गरेका ४३ अन्तर्राष्ट्रिय कम्पनीमध्ये दुईवटा चिनियाँ कम्पनीले मात्र मापदण्ड पूरा गर्न सकेकाले ती कम्पनी सूचीकृत भएको सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारे ।

त्यसअघि ४३ कम्पनीमध्ये १५ वटा कम्पनीले पहिलो र दोस्रो चरणको सुरुङ निर्माणका लागि बोलपत्र पेस गरेका थिए । सुरुङमार्ग निर्माण गर्न दुई खण्डमा ‘प्रि–क्वालिफिकेसन’ का लागि ३० फागुन २०७६ मा बोलपत्र आह्वान गरिएको थियो ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्