Logo

ओलीको प्रतिगमनविरुद्ध राजधानीमा प्रदर्शन



काठमाडौं, पुस १३ । संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो काठमाडौंमा जसपाका कार्यकर्ताहरूले र्‍याली निकाले।

र्‍यालीपछि गरिएको सभामा बोल्दै जसपाका नेताहरूले संसद् विघटनविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए। कार्यक्रममा जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले चुनाव हुन्छ र चुनावमा पहिलो पार्टी भइन्छ भन्ने भ्रम नपार्न कांग्रेसलाई आग्रह गरे। कांग्रेसलाई लक्षित गर्दै भट्टराईले भने, ‘केपी ओलीले चुनाव चाहेकै छैनन्। चुनाव त खालि भ्रम मात्रै हो। उनले भ्रम सिर्जना गरिरहेका छन्। ’

प्रधानमन्त्रीले संसद् विघटन गरेर संविधानमाथि प्रहार गरेको उनले बताए। ‘यो भनेको संविधानमाथिको प्रहार हो,’ गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संघीयता लोकतन्त्रको खम्बा भएको बताउँदै भट्टराईले भने, ‘ओलीले एकपछि अर्को गरी लोकतन्त्रको खम्बामाथि प्रहार गरिरहेको छन्।

संसद् विघटन गरेर त्यसको सुरुआत गरेका छन् ।’ ओलीको प्रहारबाट माधव नेपाल र पुष्पकमल दाहाल भर्खरै मात्र मुक्त भएको उनले चर्चा गरे। ‘ओलीले नेपाल र दाहाललाई गोदेको गोद्यै गर्नुभयो। भर्खरै मात्र ओलीको गोदाइबाट उहाँहरू मुक्त हुनुभएको छ,’ उनले भने, ‘ओलीले उहाँहरूलाई यसरी गोद्नुभयो कि टाउकामा हान्न मात्र बाँकी थियो ।’

उक्त कार्यक्रममा जसपाका अर्का नेता राजेन्द्र महतोले नेपाली जनताले निरन्तर प्रतिगमन खेप्ने गरेको बताए। ‘अब कति पटकसम्म प्रतिगमन नेपाली जनताले खेप्ने?’ उनले भने। ओलीले आफ्नो कुर्सी जोगाउन यसपटक प्रतिगमन गरेको उनले बताए। ‘कहिले राजाले प्रतिगमन गरे। कहिले नयाँ राजाले प्रतिगमन गरे। एउटा प्रतिगमन सच्याउने नाममा फेरि अर्को प्रतिगमन गर्ने काम भएको छ,’ उनले भने, ‘जनताको अधिकार कसैले पनि खोस्न पाउँदैन ।’

संविधानमा भएको त्रुटि सच्याउनुपर्ने माग उनले गरे। पार्टीले राखेको मागअनुसार संविधान संशोधन हुनुपर्ने माग उनले गरे। संविधान बनाउने बेला नै प्रतिगमन भएको उनले बताए। उक्त कार्यक्रममा जसपाका अर्का नेता अशोक राईले राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ भन्दा पनि अहिले केपी ओलीले झन् ठूलो प्रतिगामी कदम चालेको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्