Logo

कांग्रेसमा सकस



काठमाडौं, पुस १३ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक झगडा व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे।ओलीको उक्त कदमका कारण नेकपा राजनीतिक रूपले दुई पक्षमा विभाजित भयो।तिनीहरूमध्ये एउटा पक्ष निर्वाचन र अर्को पक्ष प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका छन्।प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको अर्को दल नेपाली कांग्रेस भने पुनःस्थापना वा निर्वाचन कुनैै पक्षमा भन्ने अहिलेसम्म खुलेको छैन, उक्त कदमको विरोध भने जनाइरहेको छ।

नेता रामचन्द्र पौडेलसहितका केही नेताले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै पुनःस्थापनाको पक्षमा सडकमा उत्रिनुपर्ने मत राख्दै आएका छन्।अदालतले संविधानको अक्षर, भावना र संविधान निर्माणकर्ताको आशयलाई ध्यानमा राखेर न्यायमूर्तिले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने उनीहरूको तर्क छ।२०५९ सालमा विघटित संसद् सडक आन्दोलनबाटै पुनःस्थापना भएको भन्दै पौडेलसहितका नेताहरू अदालतबाट पुनःस्थापना नभए सडकबाटै गर्नुपर्ने भनिरहेका छन् ।

‘अहिले संविधानअनुसार प्रधानमन्त्रीले आफ्नो सीमामा रहेर काम गर्नुपर्छ।बहुमतको व्यवस्थापन गर्न सक्दासम्म शासन गर्ने हो, नसकेका दिन अर्कोलाई हस्तान्तरण गर्ने हो,’ पौडेलले भने।अहिलेजस्तो एउटै पार्टीको बहुमत भए पनि विपक्षी दललाई सरकारको विकल्प दिने बाटो संविधानले दिएको बताउँदै पौडेलले संविधान पल्टाएर हेर्नेबित्तिकै पुनःस्थापनाको विकल्पै नभएको तर्क गरे।संसद् पनि पुनःस्थापना नहुने र निर्वाचन पनि नहुने खतरा मुलुकमा बढ्दै गएको आशंका उनले व्यक्त गरे।‘अहिलेको संविधान र परिवर्तन भत्कन नदिन संसद् पुनःस्थापनाको विकल्प छैन,’ उनले भने, ‘कांग्रेस चुप लागेर बस्न सक्दैन ।’ उनी विगतमा जस्तै सडकबाट भए पनि प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने पक्षमा देखिएका छन् ।

तर सभापति शेरबहादुर देउवासहित बहुसंख्यक नेताहरू प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अब अदालतको विषय भइसकेको जनाउँदै त्यसको पक्ष वा विपक्षमा पार्टी उभिन नहुने पक्षमा छन्।अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे त्यसलाई स्वागत गर्ने, नत्र आफ्नो पक्षमा एक तिहाइभन्दा कम संख्या रहेको प्रतिनिधिसभा स्थापनाको पक्षमा जोडबल गर्न नहुने मत राख्दै आएका छन्।उनले अदालतबाहेक संसद्को पुनःस्थापना यसअघि जस्तो सडकबाट सम्भव नभएको बताउँदै आएका छन्।प्रतिनिधिसभा पुनःस्थापना पनि नहुने र निर्वाचनमा पनि भाग नलिने कुराले अहिलेको परिवर्तन झन् संकटमा पर्ने भन्दै देउवा पक्षका नेताहरूले चुनावको सुनिश्चिततासहित त्यसको तयारीमा लाग्नुपर्ने तर्क छ।उपसभापति विमलेन्द्र निधिले रिक्त प्रतिनिधिसभा पुनःस्थापना वा नयाँ निर्वाचनबाट गठन मात्र सम्भव रहेको बताए ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्