Logo

वातावरण, बाल तथा युवामैत्री बन्दै नमोबुद्ध



बनेपा, १३ पुस । नगरपालिकाभित्र वातावरण संरक्षण र त्यसको लागि युवाको भूमिकाका बारेमा नगर युवा परिषद्ले छलफल थालेको छ । काभ्रेको नमोबुद्ध नगरपालिकामा गठन भएको युवा परिषद्ले वातावरणीय दीगोपनाका लागि युवा परियोजना अन्तर्गत वातावरणीय अधिकार सम्बन्धबारे नीतिगत छलफल गरेको छ ।

नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालको अध्यक्षतामा आइतबार भएको छलफलले वातावरण, बाल र युवामैत्री नगर बनाउने योजनालाई मूर्तरुप दिन नीतिगत व्यवस्थासहित कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । नगरप्रमुख तिमल्सिनाले प्रदूषणजन्य उद्योगको विस्थापन, वातावरण संरक्षणका लागि प्रत्येक वडामा विभिन्न आयोजनाको सञ्चालन गरिएको र युवालाई नेतृत्व विकासमा सघाउन विगतमा शुरु भएको ‘को बन्छ प्रमुख’ कार्यक्रमलाई समेत निरन्तरता दिने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले ‘वातावरण संरक्षणमा नगरपालिकाले एक वडा एक चौतारो, एक वडा एक पोखरीलगायतका योजना बनाएर कार्यान्वयन गरेको बताए। यस्तै नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वातावरण संरक्षणमा अन्य नगरको तुलनामा नमोबुद्ध नगरपालिका अगाडि रहेको दाबी गरे।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालले आगामी दिनमा नगरका युवा क्लबसँगको सहकार्यमा भौतिक विकाससँगै उद्यम विकासलगायतका क्षेत्रमा काम गर्ने बताए । ग्रामीण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले टिडिएच जर्मनीको सहयोगमा नमोबुद्ध नगरपालिकामा वातावरण संरक्षणका लागि तीन वर्षदेखि काम गर्दै आएको उल्लेख गर्नुहुँदै त्यसलाई आगामी दिनमा थप परिस्कृत गर्दै लैजाने बताए। सो अवसरमा नगरपालिकाभित्रका २२ युवा क्लबमध्ये ढोकेपाटी जुनियर युवा क्लबलाई नगद रु पाँच हजारसहित सम्मान गरिनुका साथै युवा स्वयंसेवक सुजन तामाङलाई सम्मान गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्