Logo

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्ने मन्त्री ढकालको विश्वास



काठमाडौं, १३ पुस । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् । आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उनले सो क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ र यसबाट विश्वमै नेपालको पहिचान कायम रहन्छ भने। “पशुपति क्षेत्रलाई अझ सुन्दर र पवित्र बनाउन कोषका पदाधिकारी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ”,उनले भने ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सबै काम गर्न कोष लाग्नुपर्नेमा जोड दिनुभयो । फूल प्रसादका पसल व्यवस्थापन एवं तिलगङ्गाको बस्ती स्थानान्तरणका काम पनि तालिका अनुसार सम्पादन गर्न उनले कोषको ध्यानाकर्षण गराए ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महत्वपूर्ण पुरातात्विक सम्पदाले भरिपूण पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार नै काम हुनुपर्नेमा जोड दिए । मन्त्री ढकाललाई कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतका पदाधिकारी एवं कर्मचारीले हाल भइरहेका गतिविधि एवं कोरोना महामारीले पशुपति क्षेत्रमा पारेको प्रभावका विषयमा जानकारी गराएका थिए ।
गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर पुस १ गतेदेखि खुला गरिएको थियो । हाल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनका लागि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । मूल प्रवेशढोकामै स्यानिटाइजरको व्यवस्था गरिएको छ । दुई मिटरको दूरी कायम गरेर भक्तजन प्रतीक्षाका लागि उभिन गोलो घेरा बनाइएको छ । पुसका चिसोमा पनि बिहानदेखि दिउँसो १ बजेसम्म पाँच हजारसम्म भक्तजनले दर्शन गर्ने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्