Logo

सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी अब औपचारिक माध्यमबाट



काठमाडौं, पुस १४। चालू आवको प्रथम त्रैमासिक मौद्रिक समीक्षाले लिएको नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले तयारी थालेको छ । यो व्यवस्थाले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा युट्युब, गूगललगायत अन्य सूचनाप्रविधिको माध्यमबाट गरिने विज्ञापन तथा विदेशी संस्थाबाट लिइने साना रकमको अनलाइन कोर्षलगायतको भुक्तानी नेपालबाटै गर्न सकिनेछ ।

मौद्रिक नीतिअनुसार नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत जुनसुकै विदेशी सेवा आयातबापत वाणिज्य बैंकबाट प्रिपेड कार्डमार्फत भुक्तानी हुनेगरी व्यवस्था मिलाउन लागेको छ । यसका लागि बैंकले तयार पारेको प्रस्तावित व्यवस्थामा सुझाव दिन सोमवार सूचना जारी गरिएको छ ।

विभागले सोमवार जारी गरेको प्रस्तावित व्यवस्थाबारे सरोकारवालाहरूसँग पुस मसान्तसम्म सुझाव तथा प्रतिक्रिया माग गरेको छ ।

पछिल्लो समय नेपालबाट यस्ता माध्यममा विज्ञापन बढ्न थालेको र यसको भुक्तानी अनौपचारिक माध्यमबाट हुने गरेको छ । यसलाई व्यवस्थित गर्न लागिएको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बताएको छ ।

केन्द्रीय बैंकले प्रस्ताव गरेको व्यवस्थाअनुसार विदेशी सेवा प्रयोग गरेबापत अमेरिकी डलर ५ सयसम्मको भुक्तानीका लागि वाणिज्य बैंकहरूले प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । यस्तो सेवा लिएका ग्राहकले १ वर्षमा सोही रकम बराबर मात्र भुक्तानी गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तो कार्ड लिन चाहने व्यक्ति फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ । कार्ड जारी गर्दा सम्बद्ध प्रयोगकर्ताको केवाईसी (ग्राहक पहिचान) विवरण भर्नुपर्ने छ र सम्बद्ध प्रयोगकर्ताको स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने छ ।

विदेशबाट सेवा खरीद गर्दा नियमअनुसार लाग्ने कर अग्रिम भुक्तानी हुने व्यवस्था छ । यस्तो कार्डको उपयोग एउटाभन्दा बढी बैंकबाट गर्न नपाइने व्यवस्था गर्न लागिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्