Logo

कर्णालीका ठूला विमानस्थलको स्तरोन्नति हुँदै



सुर्खेत, पुस १४। कर्णाली प्रदेशका ठूला दुईओटा विमानस्थलको स्तरोन्नति गरिने भएको छ । सरकारले धेरै वर्षपछि कर्णालीको हवाई सेवा गुणस्तरीय बनाउन सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नति गर्न लागेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको प्रदेशका पदाधिकारीहरूको बैठकले प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थललाई प्रदेशस्तरको विमानस्थलको रूपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । उक्त विमानस्थललाई रात्रिकालीन उडान गर्न सकिने बनाइनेछ ।

‘नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण ९क्षेत्रफल र तीन पुस्ते० यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव बुढाथोकीले भने, ‘विमानस्थल विस्तार एवं स्तरोन्नतिका क्रममा आउन सक्ने विविध समस्या समाधान गर्न प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्ने निर्णय गर्नेछ ।’

जग्गा प्राप्ति प्रक्रिया शीघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र मूल्यांकन समितिको बैठक आह्वान गरी काम अघि बढाउने निर्णय समेत बैठकले गरेको बुढाथोकीले बताए । उनका अनुसार मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकममध्ये ५ प्रतिशत वीरेन्द्रनगर नगरपालिकाले बेहोर्ने निर्णय छ ।

यस्तै प्रदेश राजधानी सुर्खेतपछि जुम्ला विमानस्थलको स्तरोन्नतिको काम अघि बढाइएको छ । विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले सर्भेलगायतको कामलाई तीव्रता दिएको हो । चालू आर्थिक वर्षदेखि बहुवर्षीय आयोजनाको रूपमा विमानस्थल विस्तारको काम शुरू हुने प्राधिकरणले बताएको छ । कर्णालीका हिमाली जिल्लामा यात्रु तथा कार्गो उडानका बढी चाप मानिने जुम्ला विमानस्थल विस्तारका लागि संघीय सरकारले यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारको शेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार विस्तृत अध्ययनका लागि यो वर्ष १७ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्