काठमाडौं, १४ पुस । नेपाल विद्यार्थी संघले कक्षा ११ को पाठ्यक्रम अन्यौलता र त्यसबाट विद्यार्थीहरुमा पर्न गएको समस्याप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकार्षण गराएको छ । नेविसंघ, केन्द्रइ समितिका महामन्त्री बलदेव तिमल्सिनाले एक विज्ञप्ती जारी गर्दै यस्तो ध्यानाकार्षण गराएका हुन् ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘कक्षा–११ को पाठ्यक्रमको अन्योलता र त्यसबाट विद्यार्थी हरुमा पर्न गएको समस्या प्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ । यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा–११ का केही पाठ्यक्रमहरू परिवर्तन भएको तर त्यसको विरुद्धमा सर्वाेच्च अदालतमा रिट दायर भइ त्यसलाई तत्काल लागू नगर्न अन्तरिम आदेश भए पश्चात नयाँ पाठ्यक्रम पढाउन रोकिए संगै कुन पाठ्यक्रम पठाउने र पढ्ने भन्ने टुंगो नहुँदा यसले ठुलो अन्योलता खडा गरेको छ भने शिक्षा मन्त्रालय यसप्रति बेखबर हुनु दुःखद छ ।’
उनले भने,‘मुद्दाको सुनुवाइ चल्दै आएपनि पटक पटक पेशी स्थगित हुनु, सम्मानित अदालतले फास्ट ट्रयाकबाट फैसला गर्न नखोज्नु र शिक्षा मन्त्रालयले आबश्यक पहल पनि नगर्ने र पुरानै पाठ्यक्रम पढाउने बाटो खुल्ला नगरिदिएको कारण विद्यार्थी हरु ठुलो मारमा परिरहँदा शिक्षामन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र,पाठ्यक्रम विकास केन्द्र लगाएत सरोकारवाला निकायले तत्काल अन्तरिम निकास निकाल्न कुनै पहल नगरी रमिते बनेर किन बसेका छन ? गम्भीर प्रश्न उब्जिएको छ । अतः लाखौं विद्यार्थी हरुको भबिष्य जोडिएको बिषयलाई तत्काल निराकरण गर्न सरकार संग माग गर्दै अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छु । जय नेपाल !!!’–विज्ञप्तीमा थप भनिएको छ ।