Logo

नेपाल प्रहरीमाथि ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ



काठमाडौं, १४ पुस । ठगी सम्बन्धी कसुरमा संलग्न २ जना पक्राउ परेका छन् । ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन घर भएका काठमाडौं घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका संचालक पर्सा वीरगंजका ५५ वर्षीय पिताम्बर कुमार मुन्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पिताम्बरलाई वीरगंज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न आ.व. २०७३ र ०७४ सालमा बोलपत्र आव्हान गरिएकोमा प्राप्त बोलपत्रमध्ये न्यूनतम मूल्यांकित बोलपत्रदाता क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी, वीरगंजबाट प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा २ करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय भई उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयबाट सम्बन्धित आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखी नमूना निकाली परीक्षण गर्न २०७७ साउन ३० गते एसजिएस चेन्नाई ईन्डिया पठाएपछि साउन ३२ गते नरेन्द्रले पुनः नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नम्बर तथा ईमेल ठेगाना समेत उल्लेख गरी डिएचएल मार्फत सोही ल्यावमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाईदा पु¥याउने कार्य गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ दुवै जनामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्