काठमाडौं, १४ पुस । वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशी मुद्रा सटही गर्न अनुमति दिएको छ । वाणिज्य बैंकहरुले अब अनलाइन मार्फत विदेशबाट सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजनका लागि ५ सय डलर बराबरको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने जनाएको छ ।
वाणिज्य बैंकहरुले दिनको विनिमयदरका आधारमा ग्राहकको अनुरोधमा ५ सय अमेरिकी डलर सम्मको कार्ड जारी गर्न पाउनेछन् । कार्डको प्रयोग गर्दा लाग्ने कर अग्रिम रुपमा कट्टा गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको बताएको छ ।
यो सुविधा वर्षमा एक पटक वा पटक–पटक गरेर बढीमा ५ सय डलर बराबरको विदेशी रकम उपभोग गर्न पाउँछन् । प्रयोगकर्ताले नेपालको कानुनले दिएका विदेशी सेवा नेपालमा नै बसेर अनलाइन मार्फत खरिद गर्न सक्नेछन् । कार्ड जारी गर्दा प्रयोगकर्ताको केवाईसी अद्यावधिक गरी गरी प्यान नम्बर लिनुपर्ने हुन्छ ।