काठमाडौं, १४ पुस । राष्ट्रिय बाणिज्य बैंक त्रिभुवनचोक नेपालगञ्जका तत्कालीन प्रबन्धक ललित बहादुर शाहीसहित ८ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । बैंकको शाखा कार्यालयबाट भ्रष्टाचार गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा निम्न व्यक्तिहरुले किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरेको पुष्टि भएको थियो ।
मुद्दा दायर भएकाहरु बैंकका तत्कालिन प्रबन्धक शाही, सहायक कल बहादुर ओली क्षेत्री, तत्कालिन उप–प्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिववान अहमद जसगढ, सकिना जसगढ, फहमिदा बानो जसगढ र मुल्यांकनकर्ता कर्ण बहादुर के.के रहेका छन् ।