Logo

ओली धर्मनीरपेक्षता विरोधी हुन् ?



काठमाडौं, १४ पौष । नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली धर्मनीरपेक्षताविरोधी भएको टिप्पणी गरेका छन् । उनले ओलीले धर्मनीरपेक्षतालाई वाध्यतावश मानेको बताए ।

‘केपीजी धर्मनीरपेक्षता विरोधी ठाउँमा हुनुहुन्छ भन्ने देखियो,’ प्रचण्डले आज आफ्नो समूहले राजधानीमा आयोजना गरिएको विरोधसभामा भने,‘सच्चियो होला भन्ठान्यौं तर सच्चिनुभएको रहेनछ ।’ प्रचण्डको यो भनाई यतिबेला आएको जतिबेला देशमा हिन्दुराष्ट्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् ।

ओलीका पछिल्लो अभिव्यक्तिहरु हिन्दुत्वसँग सम्बन्धित छन् । उनले महत्वपूर्ण कार्यक्रम देखि सन्देशहरुमा समेत ऋषिमुनी देखि जटिबुटीको विषय उठाउने गरेका छन् । पूर्वीय सभ्यता र संस्कृतिको महत्वमा जोड दिने गरेका छन् । यतिमात्र नभई ओलीले ठोरीमा राम मन्दिर बनाउने पहल थालिसकेका छन् । ओलीको यो कदम देशमा धर्मसंस्कृतिसम्बन्धि भावनालाई जागृत गराउने खालको छ ।

वर्तमान संविधानमा धर्मनीरपेक्षता स्पष्ट उल्लेख गरिएको छ । ओली त्यही संविधान अन्र्तगत प्रधानमन्त्री बनेका हुन् । तर, उनी संविधान नै उल्टाउनतर्फ लागेको प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल जस्ता नेताहरुको आरोप छ ।

ओलीले प्रतिनिधिसभा बिघटन गरेको कदम परिवर्तनलाई उल्टाउने उद्देश्यले प्रेरित भएको आरोप विरोधी समूहको छ । गणतन्त्र, संघीयता र धर्मनीरेपक्षताको पक्षधरले यो आरोप लगाइरहँदा ओलीको कदममा राजसंस्था, हिन्दुराष्ट्र र एकात्मक राज्य प्रणालीका पक्षधरले समर्थन जनाइरहेका छन् । राप्रपा अध्यक्ष कमल थापा ओलीको कदमबाट उत्साही छन् । मध्यावधि चुनाव घोषणाको स्वागत गरेका छन् । यी घटनाक्रमले पनि ओलीको धर्मनीरपेक्षता विरोधी भनी लागेको आरोपमा बल पुगेको छ ।

अहिलेको राजनीतिक संकटसँगै नयाँ सम्भावनाको ढोकाहरु उघ्रिनथालेको छ । संवैधानिक संकट आएमा वर्तमान संविधान नै धरापमा पर्न सक्छ । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षताको विशेषता रहेको संविधान संकटमा पर्नु र त्यस्ता पक्षधरहरुप्रति वितृष्णा बढ्नुले नयाँ माहोल सृजना गर्दैछ । यसमा पनि ओलीलाई नै दोषरोपण गरिएको छ । ओलीलाई धर्मनीरपेक्षता, गणतन्त्र र संघीयताको विरोधी भन्दै प्रचण्ड समूहले निरन्तर आरोप लगाइरहेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्