Logo

पुरानो लयमा फर्किंदै अर्थतन्त्र



काठमाडौं,पुस १५ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नुु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ ।

गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको तुलनामा कर्जा लगानी २ खर्ब १५ अर्बले बढेको थियो । गत असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी २९ खर्ब ३ अर्ब थियो । चालू आवको १० पुससम्ममा कर्जा लगानी ३१ खर्ब ४० अर्ब पुगेको छ ।

यो ८ प्रतिशतको वृद्धि हो । १० पुससम्म विभिन्न वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँ मात्र भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार पुस १० गतेसम्ममा बैंकहरूले ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३१ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका थिए । २७ मंसिरसम्ममा निक्षेप ३६ खर्ब ९४ अर्ब र कर्जा ३१ खर्ब १ अर्ब रुपैयाँ थियो । त्यस्तै पछिल्लो एक सातामा कर्जा लगानी १७ अर्ब र निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनामा उपभोग्य कर्जा १०।१ प्रतिशतले बढेको छ । सरकारी वा संस्थागत ऋणपत्रको धितोमा लिने कर्जा र क्रेडिट कार्ड कर्जा क्रमशः २६।४ र १८।४ प्रतिशतले बढेको छ ।

त्यस्तै घरजग्गा व्यवसाय कर्जा १४।६ प्रतिशत, विज्ञापन क्षेत्रमा जाने कर्जा ४४।४ प्रतिशत, सेयर धितो कर्जा २१।६ र स्थिर सम्पत्तिमा लगानीका लागि दिइने कर्जा ११।९ प्रतिशतले बढेको छ ।

कृषि कर्जा बढे पनि चिया उत्पादनका क्षेत्रमा जाने कर्जा भने ३।५ प्रतिशतले घटेको छ । ७।४ प्रतिशतले बढेको कृषि कर्जा पनि उत्पादनभन्दा कृषि सेवातर्फ बढी गएको देखिएको छ ।

चालु आर्थिक वर्षका सुरुका चार महिनामा मदिराबाहेकका पेय पदार्थमा जाने कर्जामा २१।१ प्रतिशतले कमी आएको छ भने मदिरा क्षेत्रमा जाने कर्जामा ४।९ प्रतिशतले वृद्धि भएको छ । मुलुकमा कर्जाको माग बढी भइरहेकै बेला राष्ट्र बैंकले १ अर्ब ४० करोड बैंक तथा वित्तीय संस्थामा एक वर्षे मुद्दतीमा लगानी गर्ने भएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्