Logo

मङ्सिरसम्म १२ अर्ब निर्जीवन बीमाशुल्क उठ्यो



काठमाडौं,पुस १५ । चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा निर्जीवन बीमा कम्पनीहरूले रू। १२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त मङ्सिरसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ बीमा कम्पनीले यो बीमाशुल्क संकलन गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने यस अवधिको तथ्यांक बीमा समितिमा पेश गरेको छैन ।

बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले समीक्षा अवधिमा रू। १ अर्ब ३७ करोड बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्सले बराबर अर्थात् रू। १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमाशुल्क संकलन गर्ने मामिलामा त्यसपछि सिद्धार्थ इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले रू। १ अर्ब बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

एनएलजी इन्स्योरेन्सले ५ महीनामा रू। ९१ करोड बीमाशुल्क संकलन गरेको छ । पछिल्लो ३ वर्षमा सञ्चालनमा आएका ३ कम्पनीमा अजोड इन्स्योरेन्स अग्र स्थानमा रहेको छ । उक्त कम्पनीले समीक्षा अवधिमा रू। ५२ करोड बीमा शुल्क संकलन गरेको छ । यसैगरी जनरल इन्स्योरेन्सले रू। २९ करोड र सानिमा जनरल इन्स्योरेन्सले रू। २३ करोड बीमाशुल्क संकलन गरेका छन् ।

कोरोना भाइरसको विपद्मा भएको यस व्यवसायलाई बीमा कम्पनीहरूले सकारात्मक रूपमा लिएका छन् । कोरोना संकटमा पनि बीमा व्यवसाय बढ्दो क्रममा रहेको बीमा कम्पनीहरूको भनाइ छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले कोरोना महामारीमा पनि व्यवसाय बढ्दो क्रममा रहेको बताए । विशेषगरी बैंकमार्फत हुने व्यवसायले बीमा व्यवसाय पनि बढेको उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्