Logo

कोरोनाका कारण वैदेशिक रोजगारी अझै अन्योलमा



काठमाडौं, पुस १५ । रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ ।विदेशमा उद्योग, व्यवसाय सुचारु भए पनि लामो समयसम्म मागपत्र प्रमाणीकरण नभएकै कारण नेपाली जान नपाएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । खाडी मुलुकहरुमा कतारबाहेक अन्य मुलुकमा मागपत्र प्रमाणीकरण भएको छैन ।

यसैबीच, कोरोनाको जोखिम देखापरेको भन्दै खाडीका केही मुलुक र अन्य मुलुकले पनि अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्ग आवागमन स्थगन गरेको बताए सँगै रोजगारीमा थप अन्योल हुने देखिएको हो । कतारमा जाने कामदारको हकमा पनि १४ दिन क्वारेन्टाइनमा आफनै खर्चमा बस्नुपर्ने नियमले कामदारलाई रोजगारीको लागि कतार पठाउन गा¥हो भएको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल बताए ।

कतार जाने कामदारले क्वारेन्टाइनमा बस्नको लागि १४ सय कतारी रियल खर्च गर्नुपर्ने सचिव भुर्तेले बताए। रोजगारदाताले क्वारेन्टाइन खर्च नदिने भएकाले कामदार आफँै नै खर्चको व्यवस्था गर्नुपर्ने भएकाले कतार जान समस्या देखापरेको उनको भनाई छ ।
मागपत्र प्रमाणीकरणको विषयमा परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लाई मागपत्र प्रमाणीकरण खोलिदिन आग्रह गरे पनि मागपत्र प्रमाणीकरण नभएकाले नेपालमा आउने श्रमिकको माग भारतलगायत अन्य देशमा जाने खतरा रहेको वैदेशिक रोजगार व्यवसायी भुर्तेलले बताए ।

वैदेशिक रोजगारीको लागि धेरै नेपाली श्रमिक जाने मुलुक मलेशिया, साउदी अरब, यूएईमा नयाँ कामदार जाने प्रक्रिया ठप्पै जस्तै रहेको उनको भनाइ छ । थोरै मात्रामा मागपत्र भएको यूरोपका देशमा पनि केही मागपत्र आए पनि कोरोनाको कारण जोखिम बढेको व्यवसायी बताउँछन् ।

अन्य यूरोपका विभिन्न देशमा दोस्रो चरणमा कोरोनाको संक्रमण देखिएकाले मागपत्र ल्याउन नसकिएको यूरोपमा श्रमिक पठाउने व्यवसायी गोरखापत्र अनलाइनलाई बताउँछन् । यूरोपका केही देशमा फेरि लकडाउन हुन थालेकाले पनि वैदेशिक रोजगारीको लागि उक्त मुलुकमा अन्योल रहेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरे पनि विदेशमा रहेको नेपाली राजदूतावासले कामदारको मागपत्र प्रमाणीकरण गरेका छैन ।नेपालीका रोजगारीका गन्तव्य मुलुकमा अझैं कोरोनाको जोखिम रहेको र हतार गरेर श्रमिक पठाउँदा अलपत्र पर्ने समस्या आउने जोखिमलाई मध्यनजर गरेर हतारमा मागपत्र प्रमाणीकरण नगरेको विदेशमा रहेको दूतावासहरु बताउँछन् ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्