Logo

ओलीले संकटकाल लगाएर भएपनि सत्ता लम्ब्याउने धम्की दिन थालेका छन् : वर्षमान पुन



रोल्पा, १५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा पुर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा पुनले भने, ‘प्रधानमन्त्री केपी ओलीको चुनाव गर्ने नियत नै होइन । कसरी चुनाव हुन्छ ?’

नेकपा प्रचण्ड–नेपाल समूहको विरोध सभाका लागि मंगलबार रोल्पा पुगेका उनले अबको चार महिनामा चुनाव नहुने र ओली सत्तामा नरहने पनि दावी गरे । ‘आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारे’ उनले भने, ‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ ।’ प्रधानमन्त्री ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भएपनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको भनाइ छ ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाको विगत स्मरण गर्दै भने, ‘शेरबहादुर देउवाले ५९ सालमा निर्वाचन घोषणा गर्नुभयो, संसद विघटन गर्नुभयो । संसद दरबारमा बुझाएर आफै जेल परेपछि गल्ती भयो भनेर आफैं आन्दोलनमा आउने अवस्था बन्यो ।’ उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको टिप्पणी गरे । पुनले भने, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभयो ।’ केन्द्रीय समितिको दुई तिहाई सदस्य आफूहरुको पक्षमा रहेको र ओली पक्षका एक सय जनाले ११ सयभन्दा बढी संख्यामा नयाँ सदस्य थप्नु अराजनीतिक भएको बताए । ‘एक सय जनाले ११ सयको संख्या थप्नु सामन्तले सयको पछाडि शून्य थपेर ११ सय बनाएको जस्तै हो’ उनले भने ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्