Logo

आफ्नो पक्षको भेलामा प्रधानमन्त्री ओलीले भने : ‘संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन’



काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको स्पष्ट पारेका छन् । पार्टीको आफू पक्षधर सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई बुधबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रहसमेत गरे । उनले यस स्थितिमा अर्को सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरे ।

उनले भने, “म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ । राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन । विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो । चुनावमा आउनुस्। चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ । के चुनावमा जाँदा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता सङ्कटमा पर्छ र रु झन् बलियो हुने होइन र रु”

प्रचण्ड र माधव नेपाल समूहलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गरे । नेकपाभित्रको विवादका प्रसङ्गमा अध्यक्ष ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्को पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गरे ।  “हाम्रो काम भत्काउने होइन, देश बनाउने हो । हामीले अब आन्दोलन र पार्टी जोगाउनुपर्छ । तपाईँहरु अघि बढ्नुस्, मेरो शुभकामना छ ।” तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot