पुष १५, काठमाण्डौ । नेकपाको विवादले पार्टी विभाजनसम्मको घटनाक्रम अघि बढेपछि चिनले प्रत्यक्ष रुपमा विवाद समाधान गर्ने प्रयास गर्यो । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको पुरानो सम्बधका कारण पनि यतिबेला चिनियाँ चासो बढेको हो । तर चीनबाट आएको टोली र भेटघाटबारे नेकपाका दुई समुहबीच एकमत छैन । अर्कोतिर संसद विघटनपछि चिनको सक्रियता बढ्यो भने भारतले मुख खोलेको छैन ।
नेपालको राजनीतिक परिवर्तनका बेला भारतको भूमिका रहने गरेको टिप्पणी हुने गरेको छ । अझ भुमिका मात्रै होइन, भारतले हस्तक्षेपकारी भूमिका नै खेल्ने गरेको आरोप लाग्ने गरेको छ । तर यसपटक नेकपाको विवाद र संसद विघटनपछि विदेशी हस्तक्षेप कस्तो हुन्छ भनेर चिनले राम्रैसँग देखाइदिएको छ ।
नेकपाको विवाद बढ्दा हरेक पटक राजदूत होउ यान्छीको सक्रियता त थियो नै, विभाजनकै स्थितीमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष भूमिका छरपस्ट भइसकेको छ । नेकपा ओली समुहका नेता तथा अर्थमन्त्री बिष्णु पौडेलको निम्तोमा चिनिया कम्युनिस्ट पार्टीका उपमन्त्री गुओ यझाउ नेपाल आए । उनले लगभग सबैजसो शीर्ष नेताहरुसँग भेटघाट गरेर नेकपालाई विभाजनबाट रोक्ने प्रयास गरे । चिनियाँ टोली स्वदेश फर्किइसकेको छ । तर त्यसको नतिजा भने देख्न बाँकी नै छ ।
चिनिया कम्युनिस्ट पार्टीका उपमन्त्रीले नेकपको दुवै समुहलाई उत्तिकै प्राथमिकता दिएर घेटघाट गरेको थियो । तर विदेश विभाग प्रमुखसमेत रहेका एक समुहका अध्यक्ष माधवकुमार नेपालले ओली समुहका नेता विष्णु पौडेलले एकतर्फी रुपमा निमन्त्रण दिएर चिनियाँ टोलीलाई नेपाल बोलाएकोमा आपत्ति प्रकट गरेका छन् ।
अर्को समुहका नेता पौडेलले निमन्त्रण दिएको असन्तुष्टी व्यक्त गरे पनि अध्यक्ष नेपालले उपमन्त्रीको भ्रमण उचित नै भएको बताएका छन् । चिनले पार्टीभित्रको विवादबारे जानकारी लिन खोजेको भन्दै नेपालले कुनै हस्तक्षेपकारी भूमिका भने नखेलेको दावी गरे ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालमा पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमबारे वैदेशिक मुलुकहरुको चासो हुनु स्वभाविक भएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले चिनियाँ प्रतिनिधिमण्डलको भ्रमण हस्तक्षेप नभै नेपालको विकसित घटनाक्रमबारे चासो मात्रै राखेको जिकिर गरे ।
नेपालमा यती ठुलो राजनीतिक उथलपुथल हुँदा चिनको सकृयाता बढे पनि भरतीय पक्षले भने खासै चासो दिएको पाइदैन । यद्यपी नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् । तर औपचारिक धारणा आएको छैन । चिनले प्रत्यक्ष सकृयाता देखाइरहेका बेला भारतले के गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
https://www.facebook.com/primetimestvnepal/videos/446822126326237