Logo

श्यामशरणलाई यसकारण नेपालमा ‘हिन्दु राजसंस्था’ फर्कनसक्ने चिन्ता



समाचार विश्लेषण । नेपाललाई गणतन्त्र र धर्मनिरपेक्षताको मार्गमा लाने प्रस्थानबिन्दु नयाँ दिल्लीमा ७ मंसिर २०६२ मा भएको १२ बुँदे सम्झौता नै हो । तत्कालिन नेकपा माओवादी र तत्कालिन राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध आन्दोलनमा होमिएका सात राजनीतिक दलबीच भएको उक्त सम्झौताको एउटा सरोकारवाला भारत पनि हो । यो सम्झौता गराउन भारतका तत्कालिन विदेश सचिव श्यामशरणले विशेष भूमिका खेलेका थिए । उनी स्वयंले आफ्ना लेखहरुमार्फत् १२ बुँदे समझदारीको जस लिने गरेका छन् ।

१२ बुँदे समझौतामा धर्मनिरपेक्ष र राजसंंस्था अन्त गर्ने उल्लेख थिएन । सम्झौताको पहिलो बुँदामा निरंकुश राजतन्त्र अन्त गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने उल्लेख थियो । तर, यही सम्झौतामा टेकेर सात राजनीतिक दलले जनआन्दोलन सफल गरे । आन्दोलनमा तत्कालिन नेकपा माओवादीले भित्री रुपमा सहयोग गरेको खुलिसकेको छ । आन्दोलनले संसद पुनःस्थापना गरी संविधानसभामार्फत् गणतन्त्रको घोषणा गर्दै धर्मनिरपेक्ष स्थापना गरेको थियो ।

नेपालमा भएको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भारतमा माओवादीलाई त्यतिबेला सघाऊ पुर्याइएको विषयमाथि गम्भीर प्रश्न उठाइएको छ । भारतका पूर्व जर्नेल गगनदीप बक्सीले विगतको त्यो कदमलाई भारतका लागि आत्मघाती भनेका छन् । उनले टेलिभिजन अन्तवार्तामा माओवादीलाई भारतले पालनपोषण गरेर नेपालको राजनीतिक प्रणाली नै ध्वस्त पारेर नयाँ अवस्था सृजना गर्नुलाई भारतका लागि आत्मघाती गोलको संज्ञा दिए । उनले नेपालमा चीनलगायत अन्य बाह्य शक्तिको प्रभाव बढेको तर्फ संकेत गर्दै भनेका थिए, ‘अहिले भारतले यही परिणाम भोगिरहेको छ ।’

तर, भारतमा अर्को पक्ष नेपालको विद्यमान राजनीतिक प्रणाली नै भारतका लागि अनुकूल रहेको तर्क गर्दै आएको छ । भारतका पूर्व विदेश सचिव श्यामशरणले लेखमार्फत् नै त्यसलाई बारम्बार उल्लेख गर्दै आएका छन् । उनले द इन्डियन ट्रिबुनमा बुधबार प्रकाशित लेखमार्फत् नेपालको विद्यमान राजनीतिक प्रणालीको स्थायित्वमा जोड दिएका छन् । उनले नेपालमा हिन्दु राजसंस्थाको पुनःस्थापनाले भारतको स्वार्थलाई सुरक्षित गर्ने र चीनलाई किनारा लगाउने गरी दक्षिणपन्थीहरुको समिकरणको विषय उठाइएको उल्लेख गर्दै लेखमार्फत् गम्भीरता देखाएका छन् । तर, ‘हिन्दु सम्राट’ हरुले भारतविरोधी भावनालाई बढावा दिएको इतिहासले देखाएको तर्क गरेका छन् । उनले हिन्दु सम्राटहरुको भूमिकाबारे भनेका छन्,‘उनीहरुले विश्वासिलो पहरेदारका रुपमा नेपालमा चीनको स्वार्थमा सहयोगी भूमिका खेलेका छन् ।’ श्यामशरणले यसरी लेखमार्फत् नेपालमा हिन्दु राष्ट्र र राजसंस्था फर्काउन नहुने आशयसहितको तर्क लेखमार्फत् गरेका छन् ।

चिनियाँहरुले राजतन्त्रविरुद्ध माओवादीलाई कहिल्यै सहयोग नगरेको श्यामशरणको भनाई छ । उनले भनेका छन्,‘चिनियाँहरुले माओवादीलाई राजतन्त्रविरुद्ध कहिल्यै सहयोग गरेनन् । २००६ मा राजसंस्था अव्यवहारिक भन्ने स्पष्ट भएपछि उनीहरुले माओवादीसँग सम्बन्ध बनाएका हुन् ।’

चीनले नेपालमा जुनसुकै राजनीतिक व्यवस्था जुनसुकै नाममा रहेपनि आफ्नो सुरक्षा र आर्थिक स्वार्थमा प्रयोग गर्ने तर्क गर्दै भारतले अल्पकालिन फाइदाका लागि काम गर्न नहुने तर्क गरेका छन् । श्यामशरणले नेपालमा पुनः हिन्दु राजसंस्था फर्काउने गतिविधि भारतको हितमा नहुने तर्क समेत लेखमार्फत् गरेका छन् ।

नेपालमा विकसित राजनीतिक घटनाक्रमले हिन्दु राजसंस्थाको पुनः स्थापना हुनसक्ने र त्यसतर्फ योजनावद्ध तरिकाले भूमिकाहरु भइरहेको चर्चा चलिरहँदा श्यामशरणको अर्थपूर्ण लेख प्रकाशित भएको हो । नेपालका लागि भारतका पूर्व राजदूत समेत रहेका श्यामशरण नेपालको राजसंस्था र हिन्दुराष्ट्रका योजनाकार पनि मानिन्छन् । उनैको पहलमा दिल्लीमा १२ बुँदे समझदारी भएको थियो । त्यतिबेला श्यामशरण भारतका विदेश सचिव थिए । आफूले भूमिका खेलेर नेपालमा गरेको राजनीतिक परिवर्तन धरापमा परेपछि उनी गम्भीरता देखाउन थालेका छन् ।

श्यामशरणले नेपाल कम्युनिस्ट पार्टीको भविष्यमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको जुनसुकै असफलताले पनि नेपालको लोकतन्त्र र राजनीतिक स्थायित्वलाई जोखिममा लाने लेखमा उल्लेख गरेका छन् । ओलीले जुनसुकै बेला लाभ र हानी हेरेर भारतको विरोध गर्ने र चीनको साथ लिने गरेको भनेका छन् । ओलीलाई भारतको निरन्तर साथ र नेकपाको साटो दक्षिणपन्थी समिकरणलाई साथ दिने कदम अति अदुरदर्शी हुने तर्क समेत गरेका छन् । नेकपालाई साथ र दक्षिणपन्थी समिकरणलाई असहयोग उनको आशय देखिन्छ । लेखमा घुमाइफिराई उनले परिवर्तन उल्टेर हिन्दुराष्ट्रसहितको राजसंस्थाको पुनः स्थापना भारतको हितमा नहुने तर्क गरेका छन् ।

कँग्रेस आईको सरकार हुँदाको पालामा विदेश सचिव भएका श्यामशरणले जसरी नेपालको राजनीतिक परिवर्तनमा भूमिका खेले त्यो अहिले खतरामा पर्न थालेपछि चिन्ता व्यक्त गर्न थालेका छन् । उनी कँग्रेस आईको सरकार रहँदा तत्कालिन भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहको विशेष सल्लाहकारको भूमिका पनि निभाएका थिए । श्यामशरणको पछिल्लो लेखले भारतभित्र नेपालमा गणतन्त्र र धर्मनीरपेक्षसहितको राजनीतिक व्यवस्था भारतको हितमा नभएको तर्क बलियो बन्दै गएको संकेत पनि गरेको छ । त्यसको काउन्टरमा उनले लेखमार्फत् हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना भारतको हितमा नहुने तर्क गरेका हुन् । विशेषगरी भारतको सत्तारुढ भारतीय जनता पार्टी निकट विद्धानहरुले हिन्दुराष्ट्र पुनःस्थापनामा जोड दिदै आएका छन् । अहिलेको राजनीतिक व्यवस्थाले भारतको अहित गरेको र चीनका अलावा पश्चिमा शक्तिलाई प्रभाव बढाउन सहयोग गरेको उनीहरुको तर्क छ । यसले भारतबाट वर्तमानमा नेपालको राजनीतिक व्यवस्थाको परिवर्तनमा कुनै भूमिका हुनसक्ने सम्भावनाको बलियो संकेत पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्