Logo

वामदेवले १५०१ जनाको एकता अभियान आउँदो हप्ता घोषणा गर्ने



काठमाडौं, १६ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम यतिबेला तटस्थ भूमिकामा छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समूह गठन गरेर आरोप प्रत्यारोपमा उत्रँदा गौतम मौन छन् । उनी भैंसेपाटीमा बसेर नयाँ रणनीतिको तयारीमा लागेका छन् ।

गौतम निकट स्रोतका अनुसार अहिले १५०१ जनाको एकता अभियान गठनको तयारीमा वामदेव सक्रिय भएका छन् । उनले यसका लागि देशभरका तटस्थहरुको नाम संकलन गर्न निर्देशन दिएका छन् । गौतमको निर्देशन अनुसार देशभर तटस्थहरुको पहिचान गरी नाम संकलन गर्दै एकता अभियानमा नाम राख्न शुरु भएको छ ।
गौतमले अर्को हप्ता १५०१ को एकता अभियानको घोषणा गर्दैछन् । उनी निकटस्थका अनुसार अभियानमा तटस्थ रहेकाहरुको उल्लेख्य संख्या हुनेछ ।

यतिबेला गौतमलाई प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय र सहअध्यक्षको प्रस्ताव गरेका छन् । तर, उनले त्यसलाई स्वीकार गरेका छैनन् । पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो समूहमा महत्वपूर्ण स्थान दिने प्रस्ताव गरेका थिए । तर, गौतम सहमत भएनन् । उनी कुनैपनि समूहमा नलाग्ने र अन्तिम समयसम्म एकताको अभियानमा लाग्ने अडान लिए ।

यसैगरी, वामदेवले तयारी गरेको एकता अभियान छुट्टै अघोषित पार्टीको रुपमा अगाडि बढ्ने बुझिएको छ । नेकपाको दुवै समूहमा आफ्नो प्रभाव कमजोर हुनसक्ने देखेर गौतमले आफ्नै अलग्गै समूह बनाउन लागेका हुन् । एकता अभियान नाम दिइएको यही शक्तिले भविष्यमा नेकपालाई पुनः एकीकरण गरी आफूलाई नेतृत्वमा स्थापित गर्ने आशा गौतमको रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्