Logo

नरमपन्थी कम्युनिस्ट फुट्दा कट्टरपन्थी कम्युनिस्ट जुटे



काठमाडौं, १६ पौष । नेपाल कम्युनिस्ट पार्टी नामको तीनवटा दल छ । जसमध्ये दुईवटा निर्वाचन आयोगमा दर्ता छ । अर्को एक दल दर्ताविना भूमिगत अर्धभूमिगत अवस्थामा छ । तीनमध्ये एक दल नेकपा विभाजित अवस्थामा छ । केपी शर्मा ओली र प्रचण्ड माधव नेपाल पक्षमा विभाजित दलमध्ये को आधिकारिक भनी छिनोफानो निर्वाचन आयोगले दिने भएकाले प्रतिक्षा भइरहेको छ ।

दुई तिहाईको सरकार पहिलोपटक चलाएको पहिलो कम्युनिस्ट पार्टी बनेको ओली नेतृत्वको नेकपा छिन्नभिन्न भएको छ । प्रचण्ड समूह बहुमत स्थायी कमिटी सदस्यसहित ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेर आन्दोलनमा छ । ओली समूहले पनि प्रचण्डलाई अध्यक्षबाट हटाएको घोषणा गरी केन्द्रीय कमिटी आफू निकटस्थलाई मनोनित गरी बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै निर्वाचन आयोगमा आधिकारिताको पत्र बुझाएको छ ।

नेकपा विभाजन हुँदा पूर्व माओवादीमध्ये सचिवालय सदस्य रामबहादुर बादलसहितका नेताहरु ओली पक्षमा लागेका छन् । पूर्व एमालेका दुई सचिवालय सदस्यसहित ठुलो संख्यामा स्थायी कमिटी सदस्यहरु प्रचण्ड पक्षमा लागेका छन् । योसँगै दुवै समूहमा आरोप प्रत्यारोप र शक्तिसंघर्ष चुलिएको छ ।

सत्तामा रहेको नेकपा फुट्दा भूमिगत र खुल्ला दुवै अवस्थामा रहेका दुईवटा नेकपा भने एउटै मोर्चामा जोडिएका छन् । यसरी जुट्नेमा विप्लव नेतृत्वको नेकपा र ऋषिराम कट्टेल नेतृत्वको नेकपा छन् । विप्लव भूमिगत छन् भने कट्टेल छैनन् ।

मङ्गलबार प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका हुन् । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्ने कदम चालेपछि कम्युनिस्टहरु कतै फुट्ने र कतै जुट्ने घटना विकास भएको छ । फुट्नेमा नरमपन्थी कम्युनिस्ट छन् । जुट्नेमा कट्टरपन्थी कम्युनिस्ट छन् । ओली र प्रचण्ड नरमपन्थी कम्युनिस्ट हुन् । विप्लव र वैद्य कट्टरपन्थी कम्युनिस्ट हुन् । उनीहरु संसदीय व्यवस्था नै असफल भएको भन्दै जनगणतन्त्र ल्याउने उद्देश्य राख्छन् ।



प्रतिक्रिया दिनुहोस्