पुष १६, काठमाण्डौ । लिन बाँकी रहेको उखुको पैसा नपाएसम्म घर नफर्किन अडानमा रहेका किसान अन्ततः सम्झौता गर्न बाध्य भए । २१ दिनभित्र बाँकी सबै रकम भुक्तानको व्यवस्था गर्ने प्रतिवद्धतासहित सरकारले किसानको आन्दोलन स्थगित गराउन सफल भएको हो । अघिल्लो वर्ष पनि सम्झौता भएको तर पैसा नपाएको तितो अनुभव लिइसकेका किसानहरु यसपटक पनि आश गर भर नपरको अवस्थामा छन् ।
२१ दिनभित्र पैसा पाउने अपेक्षामा अधिकांश उखु किसानहरु घर फर्किएका छैनन् । सम्झौताअनुसार पैसा नपाएर पुनः कडा आन्दोलन गर्ने भन्दै किसानहरु काठमाणडैमै बसिरहेका छन् । यसअघि काठमाण्डौ केन्द्रित आन्दोलन गरेका किसान अब पनि पैसा नपाए देशब्यापी आन्दोलन गर्ने मनस्थितीमा रहेको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्र बताउँछन् ।
उद्योगीबाट भुक्तानी दिलाइदिन माग गर्दै उखु किसानहरू मंसिर २८ गतेयता काठमाडौंको माइतीघरमा बसेर आन्दोलन गर्दै आएका थिए ।
अघिल्लो बर्ष पनि लामो समय सम्म धर्ना बसेका कृषक सरकारले १ महिना भित्रमा रकम उपलब्ध गराउने भनेर आश्वासन दिएको थियो । सरकारले १ बर्ष बित्दा समेत उखु किसानको रकम भुक्तानी गर्न सकेन । उखु किसानले आफुले उत्पादन गरेको उखुको मुल्य नपाउदा धेरे समय अघि देखि सास्ती भोग्न बाध्य रहेका छन् । घाम पानी समेत नभनी दिन रात खटिने कृषक आज आफनै उखुको भक्तानी पाउन पनि बाटोमा आन्दोलन गर्नुपर्ने स्थिती छ ।
सरकार, किसान र चिनी उदयोगी बीच रकम भुक्तानी गर्ने सम्झौता नभएको पनि होइन । कागजमुखी सम्झौताले किसानलाई झुक्याएको छ । तर यसपटक जसरी भए पनि किसानको पैसा उपलब्ध गराएरै छाड्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लक्ष्य छ । अब पनि उद्योगीले पैसा नदिए उनीहरुको सम्पत्ति र नगद कारोबार रोक्का गर्ने मन्त्रालयको तयारी रहेको सह प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।
यसैबीच विहिबार लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । किसानको बक्यौता रकम नदिने उद्योगीलाई पक्राउ पुर्जी जारी गरेको सरकारले यसअघि चिनी मिल संचालक राकेश अग्रवाललाई पक्राउ गरेको थियो । अग्रवाल इन्दिरा सुगर एण्ड एग्रो र अन्नपूर्ण सुगर मिलका संचालक हुन् । चौतर्फी दबाबपछि सरकारले केही कदम त चालेको छ, तर सबै किसानले बक्यौता रकम पाउने सुनिश्चितता भने भइसकेको छैन ।