Logo

नेपाल–प्रचण्डको अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्यायोः प्रभु साह



गरुडा, पुस १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल ’प्रचण्ड’को अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्याएको बताएका छन् ।

बिहीबार रौतहटको गरुडामा नेकपा जिल्ला कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाल र प्रचण्डले पटक–पटक अन्तरघातको कारण पार्टी क्षतविक्षत अवस्थामा पुगेको र मुलुकलाई संकटतर्फ उन्मुख गरेको बताए । नेपाल र प्रचण्डले आफ्नो पार्टी र आफ्नै पार्टीको सरकारविरुद्ध कदम कदममा धोखा र षडयन्त्र गरेको नेता साहको भनाइ थियो ।

‘दुनियाँमा कतै सुन्नुभएको छ, आफ्नै पार्टी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको कुरा रु यो त कांग्रेसले पनि आफ्नो सरकारको विरुद्ध कहिले गरेन । तर केही कम्युनिष्टहरु आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्यायो । तपाइँहरुले देख्नुभयो होला, त्यसमा प्रभु साहको पनि नाम छ’ नेता साहले भने, ‘मैले असार महिनामा फरक प्रयोजनका लागि संसदीय दलमा गरेको हस्ताक्षरको दुरुपयोग गरेर आफ्नै पार्टीको सरकारविरुद्ध षड्यन्त्र गरेका माधव नेपाल र प्रचण्ड विगत तीन वर्षदेखि पार्टी भित्र अन्तरघातमाथि अन्तरघात गर्दै आएका हुन् ।’

माधव नेपाल र प्रचण्डको छलछामका कारण पार्टी र सरकार संचालनमा असहज भएपछि संसद विघटन भएको बताउँदै उनले ताजा मतादेश हासिल गर्न निर्वाचनमा जुटनुपर्ने उनले बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्