Logo

सांगीतिक कार्यक्रम गरेर नयाँ वर्षको स्वागत



पोखरा, पुस १७ । कोरोना वर्ष सन् २०२० बिर्सँदै पोखरेलीले अंग्रेजी नयाँ वर्ष २०२१ को भव्य स्वागत गरेका छन् । फेवाताल किनारमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा उपस्थित सयौंले नयाँ वर्षको आपसमा शुभकामना साटासाट गर्दै स्वागत गरेका हुन् ।

आयोजक रेवान पोखराले पनि महोत्सव अवसरमा इभको स्वागतमा विविध सांस्कृतिक कार्यक्रम पस्केको थियो । गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा ४ वटा स्टेजमा विविध कार्यक्रममा दर्शकले कोरोना भुल्दै रमाएको महोत्सव संयोजक वसन्त गौतमले बताए । चार स्टेजमध्ये एकमा गन्धर्व समूहको प्रस्तुति तथा अन्य ३ मा विशुद्ध मौलिक संस्कृति, भेषभूषा, कला संस्कृति झल्किने विभिन्न जातजातिको नाचगान प्रस्तुत भएको हो ।

पोखरामा विगत २२ वर्षदेखि निरन्तर आयोजित पोखरा सडक महोत्सवलाई कोभिड–¬१९ प्रभावितबीच पनि निरन्तरता दिइएको हो । बुधबारदेखि सुरु महोत्सव शुक्रबासम्म चल्नेछ । महोत्सवमा विदेशी पर्यटकको उपस्थित हुन नसके पनि आन्तरिक पर्यटक भरमै कोरोनाबाट थला परेको पर्यटन व्यवसाय केही भए पनि उकास्ने कोसिसमा आयोजक रेवान पोखरा लागिपरेको अध्यक्ष लक्ष्मण बरालले बताए ।

महोत्सवकै छेको तथा नयाँँ वर्ष सन्दर्भमा विभिन्न होटल, रेष्टुरेन्ट तथा रिसोर्टले सांगीतिक कार्यक्रम पस्किएका छन् ।फेवाताल किनार पोखरा–१८ सेदीस्थित दी कल्चर रिसोर्टले चर्चित गायिका इन्दिरा जोशीलाई निम्तायो । न्यू इयर सेलिब्रेसनमा गायिका जोशीले चर्चित गीत पस्किएको रिसोर्टका प्रबन्ध निर्देशक प्रकाश कार्कीले जानकारी दिए । सो अवसरमा लोकल ब्याण्ड, डिजे सेसन, बीबीक्यू प्रस्तुत भयो ।

यस्तै, पोखराको होटल बाराहीले नयाँ वर्ष स्वागतमा डिजे सेसन चलायो । बाराहीचोकस्थित सो होटलमा पाहुनाको स्वागतका लागि गाला डिनरसहित डिजे सेसन भएको संचालक विप्लव पौडेलले जानकारी दिए ।

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पामा अदृश्य किरण ब्याण्डसहित डिजे सेसन भएको होटलका सेल्स एण्ड अपरेसन डिपार्टका डाइरेक्टर किरण तुलाधरले बताए । सो अवसरमा पाहुनाले नयाँ वर्षको स्वागत गरेका थिए ।

बाराहीचोकको बगैँचा रिसोर्टले लाहुरे व्यान्ड बोलायो । प्रस्तुतिमा युवा जमात झुम्दै नयाँ वर्षको स्वागत गरे । पाँचतारे पोखरा होटल ग्राण्डमा भने विगतमा जस्तो यसपालि कुनै सांगीतिक कार्यक्रम भएनन् । पोखरा होटल ग्रान्डका महाप्रबन्धक रोशन खवासले कोरोना कहरका कारण यसपालि विगतमा जस्तो कार्यक्रमलाई निरन्तरता दिन सकेनौं, आगामी वर्ष सहज हुने वित्तिकै यसप्रकारका कारण चल्नेछन् । सांगीतिक कार्यक्रम नभए पनि आएका पाहुनाले नयाँ वर्षलाई आ–आफ्नो ढंगले भव्य रुपमा स्वागत गर्न सक्ने छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्