Logo

सीमावर्ती भन्सार नाकामा पूर्वाधार बढाउन व्यवसायीको माग



वीरगञ्ज, पुस १७ । सीमावर्ती मुख्य भन्सार नाकाहरूमा पूर्वाधार बढाउन व्यवसायीले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य संघले बिहीबार वीरगञ्जमा आयोजना गरेको निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण विषयक अन्तर्क्रियामा उद्यमी व्यवसायीले सीमा नाकाका भन्सारलाई पूर्वाधार र प्रविधियुक्त बनाउनुपर्ने बताएका हुन् ।

व्यापार सहजीकरणमा खटिएका निकाय र संरचना पूर्वाधारयुक्त भए मात्रै वैदेशिक व्यापार प्रतिस्पर्धी हुने उद्योगी व्यवसायीले बताए ।

संघका महासचिव माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै नेपाल–भारत अन्तरसरकारी बैठकमा भन्सार नाकामा पूर्वाधार सुदृढीकरणको समझदारी भएकाले सरकारले यसलाई निष्कर्षमा पुर्‍याउन प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिए ।

आयात–निर्यात परिमाणका आधारमा सबैभन्दा ठूलो नाकामा रहेको वीरगञ्जको एकीकृत जाँच चौकी ९आईसीपी० मा पूर्वाधार बढाउन व्यवसायीले माग गरे । उनीहरूले आईसीपीमा पूर्वाधार स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए । ‘भारतको बिहारस्थित लक्ष्मीपुर ९रक्सौल० देखि आईसीपीसम्मको सडक पनि स्तरोन्नति गर्न आवश्यक छ । अहिले दुई लेन मात्र रहेको सडक चार लेनको बनाएर आवागमन सहज बनाउन सरकारले पहल गर्नुपर्दछ,’ महासचिव राजपालले भने ।

यो मार्गमा रेल्वे ट्रयाक भएकाले कम्तीमा ३ ठाउँमा अकासे पुल निर्माण गरिनुपर्ने, रातीको समय लाइटको उचित व्यवस्थापन गरिनुपर्नेलगायत सुझाव व्यवसायीले दिए ।

सरकारले वीरगञ्जका सबै भन्सारलाई आईसीपीमा गाभ्ने योजना बनाएको छ । वीरगञ्जको साविक इनर्वा नाकाबाट अहिले क्लिंकर, कोइला, केही परिमाणको इन्धन मात्र आयात हुन्छ । अन्य आयात–निर्यात आईसीपीमै केन्द्रित भएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्