Logo

ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय



काठमाडौं, १७ पौष । नेपाल कम्युनिस्ट पार्टीका विभाजित दुई समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली आ-आफ्नो समूह लिएर अलग भइसकेका छन् । यतिसम्मकी उनीहरु एक-अर्काको उछितो काट्ने गरी आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रचण्डले सार्वजनिक रुपमा ओलीलाई आफूविरुद्ध केही गरेर देखाउन चुनौती दिएका छन् । ओलीले पनि प्रचण्डलाई धुँदाधुँदा साबुको डल्ला धेरै खेर गएको टिप्पणी गरेका छन् ।

हदैसम्म लिखित र मौखिक आरोपमा उत्रिएका ओली र प्रचण्ड आफ्नो बाटो लागिसकेका छन् । तर, फेरि यी दुईलाई मिलाउन देशभित्र र बाहिर दुवैतर्फबाट सक्रियता बढेको छ । चिनियाँ टोलीले त खुलेआम नेकपा मिलाउने प्रयास गरेर गएको छ । यसका पछाडि चीनको राजनीतिक स्वार्थ लुकेको छ ।

ओली र प्रचण्ड मिल्ने सम्भावना लगमग टरिसकेको छ । तर, राजनीति हो सम्भावनाको खेल भइरहन्छ । कम्युनिस्ट भइकन भिन्न दृष्टिकोण राख्ने ओली र प्रचण्ड कुनैबेला मिलेकै हुन् । राजनीतिक लेनदेनका साथ दुवैको मिलन भएको हो ।

ओली र प्रचण्डलाई मिलाउन वामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले यसका लागि एकता अभियान नै चलाउन लागेका छन् । दुवै समूहमा लाग्नबाट पार्टी नेता कार्यकर्तालाई रोक्ने वामदेवको रणनीति देखिन्छ । यसबाट उनले पार्टी फुटाउनेलाई कमजोर पार्ने र आफै बलियो बन्ने महत्वाकांक्षा पनि राखेका छन् ।

वामदेवले शुक्रबार विहानै प्रचण्डलाई खुमलटारमै पुगी भेटेका छन् । भेट नेकपामा एकताको सूत्र तयार गर्ने विषयमा केन्द्रित रहेको थियो । वामदेवले संसद पुनःस्थापना गराउने तर त्यसका लागि ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सुनिश्चितता गर्ने सूत्र अघि सारेको बुझिएको छ । उनले छलफल यही एजेन्डालाई केन्द्रमा राखेर शुरु गरेका छन् ।

अब वामदेवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने तयारी गरेका छन् । भेटमा एकताको आफूले तयार पारेको सूत्रबारे कुरा गर्नेछन् । एकताको दबाबका लागि १५०१ को कमिटी बन्दैछ । त्यसका लागि उनी निकटस्थहरु नामको सूची तयार गर्न खटिएका छन् । अर्को हप्ता यसको घोषणा हुने बुझिएको छ ।

यसैगरी, चिनियाँ टोलीले वामदेवलाई पनि भेटेर गएको बुझिएको छ । नेपाल भ्रमणमा रहँदा चिनियाँ टोली वामदेवबाट उत्साही भएको बुझिएको छ । गौतम पनि चीन जस्तै नेकपा एकताको पक्षधर देखिए । एकताको एजेन्डामा केन्द्रित रहेर वामदेवले आफ्नो कुरा चिनियाँ टोलीलाई पनि राखेका थिए ।

विगतमा पनि वामदेवकै कारण नेकपाभित्र दुर्घटना दुईपटक टरेको थिये । दोस्रोपटक त उनैले ६ बुँदे सहमतिको सूत्र ल्याएर कुरा मिलाएका थिए । जसले २६ भदौमा सहमति बनेको थियो । तर फेरि नेताहरुबीच कुरा बिग्रियो । अबचाहिं बामदेव कुरा मिलाउन फेरि सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्