काठमाडौं, १७ पौष । प्रधानमन्त्री केपी शर्मा ओली आफूले बिघटन गराएको प्रतिनिधिसभा पुनःस्थापना नुहनेमा ढुक्क छन् । उनी सुर्य चिन्ह आफ्नै समूहले पाउनेमा उत्तिकै ढुक्क छन् । यसमा उनी ढुक्क भएको पछिल्ला अभिव्यक्तिहरुबाट पनि बुझ्न सकिन्छ ।
ओलीले शुक्रबार आफ्नो समूहका प्रवासी एकता मञ्चका नेता कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै सुर्य चिन्ह आफूहरुले पाउनेमा ढुक्क हुन भने । निर्वाचन आयोगमा प्रचण्ड समूहले वैधानिक नेकपा भएको दाबीसहित दर्ता गरेको निवेदन कानुनी रित नपुगेकाले फिर्ता गरिएको समेत भने । तर, निर्वाचन आयोगले दर्ता फिर्ता नभएको स्पष्ट पारेको छ । ओलीले सुर्य चिन्ह आफ्नो हुने दाबी गर्दै भने,‘आधिकारिक पार्टी हाम्रै हो । सुर्य हाम्रै हुन्छ ।’
ओलीले संसद पुनःस्थापना नहुने र मध्यावधि चुनाव हुने दाबी समेत गरे । उनले निकै ढुक्क भएर अदालतमा विचाराधीन विषयमा आफ्नो पक्षमा फैसला हुने आशयको अभिव्यक्ति दिदै आएका छन् । प्रधानमन्त्री ओली आखिर किन यति ढुक्क छन् ?
सर्वोच्च अदालतमा प्रतिनिधिसभा बिघटनमाथि रिट निवेदन दर्ता भएकोमा संवैधानिक इजलाश गठन भएको छ । यसको अन्तिम किनारा इजलाशले लगाउनेछ । त्यसैले यतिबेला सबैको ध्यान अदालतमा गएको छ । संसद बिघटनको पक्षमा फैसला भएमा कि त सबै निर्वाचनमा केन्द्रित हुनुपर्छ कि त मुठभेडको अवस्था सृजना हुन्छ ।
निर्वाचन आयोगतर्फ पनि सबैको ध्यान गएको छ । सुर्य चिन्ह ओली पक्षको हुने या प्रचण्ड पक्षको हुने ? यो चासो बढेको छ । ओलीले केन्द्रीय कमिटी विस्तार गर्नु अघिको कमिटीलाई आधार मान्ने हो भने बहुमत प्रचण्डको समूहमा छ । तयसपछिलाई आधार मान्ने हो भने ओलीकै बहुमत हुन्छ । त्यसैले सुर्य ओली कि प्रचण्ड समूहको भन्ने चासो बढेको हो । तर, ओली आफूहरुले नै सुर्य चिन्ह पाउनेमा ढुक्क छन् । प्रचण्ड समूहले भने बेला बेलामा आशंका व्यक्त गर्दै आएको छ ।
संसद बिघटनको पक्ष या विपक्षमा फैसला हुनेबारे प्रचण्डले अदालतप्रति विश्वास भएको बताउँदै आएका छन् । तर, उनले संसद बिघटनको कदमजस्तै अर्को कदम हुनसक्ने आशंका समेत व्यक्त गरेका छन् । तर, ओली भने अदालतप्रति विश्वस्त छन् । उनी संसद बिघटनकै पक्षमा फैसला हुनेमा ढुक्क छन् ।