Logo

पाँच वर्षिय बालकको घाँटी थिचेर हत्या



धनुषा, पुस १७।धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो । हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको थियो ।

बालक हराएपछि प्रहरीले खोजतलास गर्दै जाँदा मृतक बालककै बाजे नाता पर्ने ब्रम्हदेवराय अमातको भैँसी बाँध्ने गोठघरमा खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाए ।
प्रहरी उपरीक्षक मिश्रका अनुसार घटना सम्बन्धमा बुझ्दै जाँदा ब्रम्हदेवराय अमातको जेठी छोरी प्रमिलादेवी अमातले रूपैयाँ लेनदेनको विवादले उत्पन्न रिसइबीका कारण बालकको हत्या गरिएको हो ।

मृतक बालकलाई प्रमिलादेवीले घरमा बोलाएर चाउचाउ खान दिएको र बालकले चाउचाउ खाइसकेपछि बालकलाई बुबा ब्रम्हदेव सुत्ने गरेको खाटमा सुत्न लगाएर सुतेपछि घाँटीे थिची हत्या गरेको र राति अँध्यारो भएको अवस्थामा घटनास्थलबाट मृत बालकलाई सेतो सलमा बेरेर भैँसी बाध्ने गोठघरमा खाल्डो खनी गाडेर माथिबाट खरानीले छोपेको भनी प्रमिलादेवीले प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी उपरीक्षक मिश्रले बताए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्